साउन २२, काठमाडौं । बुधबारदेखि भृकुटीमण्डपमा जारी रहेकाे पहिलाे संस्करणकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चारपाङ्ग्रे, दुईपाङ्ग्रे र कमर्सियल गाडीको मुख्य आकर्षककाे केन्द्र बनेको छ ।
५ दिन सञ्चालन हुने नाइमा एक्स्पोमा अहिलेसम्म दुई दर्जन नयाँ मोडलहरु सार्वजनिक भैसकेका छन् । कम्पनीहरुले चार पाङ्ग्रे सवारी साधनमा २० लाख रुपैयाँसम्मको बम्पर धमाकासहितको अफर ल्याएर ग्राहकलाई हर्षित बनाउन सफल भएका छन् ।
त्यसैगरी दुई पाङ्ग्रे सवारी साधन बाइक, स्कुटरले पनि विशेष छुटसहित ग्राहकलाई आफ्नो पक्षमा पारिरहेका छन् । एक्स्पोमा एक दर्जनभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन लन्च भएका छन् । साथै नाइमा एक्स्पोमा लन्च भएका सवारी साधनहरु किफायती मूल्यमा अत्याधुनिक प्रविधियुक्त पनि छन् ।
नयाँ मोडल लन्च भएका दुई पाङ्ग्रे सवारी साधनहरु-
सीएफमोटो
सीएफमोटोले नेपाली बजारमा फेरि नयाँ तरंग ल्याएको छ । ४५० एमटीको सफलतापछि ऋषि ट्रेड सेन्टरले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । नेकेड स्पोट्र्स ३०० एनके र स्पोट्र्स मोडल ४५० एसआरएस । ३०० एनकेमा २९२ सीसी सिंगल सिलिण्डर इन्जिन, २८.८ बीएच पावर र २५.३ एनएम टर्क छ । डबल च्यानल एबीएस, स्लिपर क्लच, इनभर्टेड सस्पेन्सनजस्ता फिचरसहित यसको मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ ।
४५० एसआरएसमा ४४९.५ सीसी ट्विन सिलिण्डर इन्जिन, ५० बीएच पावर, ४० एनएम टर्क, ट्र्याक्सन कन्ट्रोल, ६ स्पीड गियरबक्स, गोल्डेन यूएसडी फोर्क जस्ता प्रिमियम फिचर छन् । यसको मूल्य १३ लाख ४९ हजार ९०० रुपैयाँ राखिएको छ ।
एक्स्पो अवधिभर ५० हजारसम्म छुट, कस्टमर प्रिभिलेज कार्ड र ५ वर्षको वारेन्टीको अफर पनि कम्पनीले ल्याएको छ । साथै, ४५० एमटी बुक गर्दा २५ हजारको एसेसरिज र प्रिमियम हेलमेट निःशुल्क पाइनेछ ।
केटीएम
नाइमा एक्स्पो नेपालको अफ–रोड राइडिङ प्रेमीहरूका लागि खुसीको बहार बनेर आएको छ । केटीएमले आफ्नो पहिलो डबल पर्पस ३९० सीसी मोटरसाइकल ३९० एन्ड्यूरो आर सार्वजनिक गरेको छ । लामो समयदेखि अफ–रोड क्षमतायुक्त पर्फमेन्स बाइकको पर्खाइमा रहेका राइडरहरूका लागि यो खबर साच्चिकै खुसीको खवर बनेको छ ।
एक्स्पोको पहिलो दिन हंशराज हुलाश चन्द एण्ड कम्पनीले ३९० एन्ड्यूरो आर सार्वजनिक गरेको हो । यो बाइकको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । तत्काल बुकिङ खुलेको भए पनि यसको डेलिभरी भने आउँदो अगष्टको अन्तिम साताबाट मात्र सुरु हुनेछ ।
याडिया
नेपाली इलेक्ट्रिक स्कुटर बजारमा याडियाले आफ्नो नयाँ भेलाक्स सिरिज सार्वजनिक गरेको छ । फास्ट चार्जिङको व्यवस्था रहेको छ जसले केवल २० मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ । ७६ भोल्ट, ३० एएच एलएफपी ब्याट्रीसहित यो स्कुटरले ११० किमीको रेन्ज दिनेछ । यसको मूल्य ३ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
दोस्रो मोडल भेलाक्स युमा ४.९ किलोवाट मोटर र ७४ भोल्ट, २० एएच ब्याट्री प्रयोग गरिएको छ । जसले ८० किमी प्रतिघण्टा टप स्पीड र १४० किमी रेन्ज दिन्छ । यसको मूल्य ४ लाख ५० हजार रुपैयाँ राखिएको छ ।
तेस्रो मोडल भेलाक्स एचमा ३.२ किलोवाट मोटर र ७२ भोल्ट, ३० एएच ब्याट्री जडान गरिएको छ । जसले १०० किमीको रेन्ज दिनेछ । यसको मूल्य २ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।
याडिया किनेस
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया किनेस इलेक्ट्रिक मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । गतिका लागि बनेको र भविष्यका लागि डिजाइन गरिएको याडिया किनेस एक उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल हो, जसले शक्ति, चपलता र आधुनिक डिजाइनलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीको भनाइ छ । किनेसले अधिकतम १०० किलोमिटर प्रतिघण्टाको गति र ४५ किलोमिटर प्रतिघण्टाको क्रुज स्पिडमा १४० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसकारण यो सहर तथा लामो दुरी दुवैको यात्राका लागि उपयुक्त छ । यो इलेक्ट्रिक मोटरसाइकलको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ । याडिया किनेसमा २ वर्ष वा २० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ ।
बिजी
अग्नि मोटोइन्कले बिगस (बीजी) ब्रान्डका दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै बिक्री सुरू गरेको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक भएका आरयूभी ३५० र सी १२ स्कुटरहरू दुवै अत्याधुनिक डिजाइन, सुरक्षात्मक फिचर र स्मार्ट प्रविधिले भरिएका छन् ।
आरयूभी ३५० आइईएक्सको मूल्य २ लाख ७९ हजार ४०० रुपैयाँ र म्याक्स भेरियन्टको ३ लाख २५ हजार ३०० रुपैयाँ छ । त्यस्तै, बीजी सी १२ आइईएक्स २ लाख २८ हजार ४०० र म्याक्स ३.० संस्करण ३ लाख ४ हजार ९०० रुपैयाँ पर्न जान्छ ।
एथर
नेपाली इलेक्ट्रिक स्कुटर बजारमा आजबाट एथरको बहुप्रतिक्षित मोडल ‘रिज्टा’ आधिकारिक रूपमा भित्रिएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटनसँगै वैद्यज इनर्जीले ३ लाख ८३ हजार ५०० रुपैयाँमा यसको टप भेरियन्ट बिक्री सुरु गरेको हो ।
३.७ किलोवाट ब्याट्रीयुक्त रिज्टाले एकपटक फुल चार्जमा १२५ किलोमिटरसम्मको रेन्ज दिने क्षमता राख्छ भने यसको टप स्पीड ८० किमी प्रतिघण्टा छ । ठूलो सिट, ३४ लिटरको अन्डरसिट स्टोरेज, ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स मोड, जिप र स्मार्ट राइडिङ मोड, टर्न बाइ टर्न नेभिगेसन, टीएफटी स्क्रिन, एलईडी लाइट र डिस्क ब्रेक जस्ता स्मार्ट फिचरले यसलाई सुविधा र सुरक्षामा अब्बल बनाएको छ ।
सेगवे
सेगवेले ४ वटा नयाँ मोडल लन्च गरेको छ । आधिकारिक बिक्रेता आइहब प्रालिले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चार नयाँ मोडेलका सवारीसाधनहरू सार्वजनिक गर्दै ग्राहकहरूलाई चकित बनाएको छ ।
सार्वजनिक मोडेलमा दुई स्कुटर —ई१५० एमके २ र ई१२५ एमके २, एक ई–बाइक —साइबर, र एक ई–साइकल — सफारी रहेका छन् । ई१५० एमके २ मा ७ हजार ५ सय वाटको दमदार मोटर र दुईवटा १ हजार ४४ वाटआवर ब्याट्री जडान गरिएको छ, जसले ९० किमी प्रतिघण्टाको टप स्पीडमा ७५ देखि १२० किमीको रेन्ज दिन्छ । यसको मूल्य ५ लाख रुपैयाँ छ ।
ई१२५ एमके २ मा ३ हजार ६ सय वाट मोटर, एक १ हजार ९४४ ध्ज ब्याट्री र ७० किमी प्रतिघण्टाको टप स्पीडसहित ६०–१०० किमी रेन्ज उपलब्ध छ । यसको मूल्य ३ लाख ५० हजार रहेको छ ।
साइबर ई–बाइक मा ३ हजार वाट हब मोटर र १ हजार ४४० वाटआवर ब्याट्री जडित छ । यसले ७७ किमीको रेन्ज दिन्छ र मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । सफारी ई–साइकल मा ७५० वाट मोटर, ९३६ वाटआवर ब्याट्री, ३२ किमी टप स्पीड र ५८ किमी रेन्ज रहेको छ । यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ छ ।
मोर्बिडेली
मोर्बिडेली नेपालले एक्स्पोमा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी३५२एक्स र टी२५२एक्स पहिलोपटक सार्वजनिक गरेको छ। उच्च प्रदर्शन र साहसिक क्षमतायुक्त टी३५२एक्स एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो जसले नेपालको कठिन भूभागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ। यसमा ३४९.२ सीसी ट्विन–सिलिन्डर, ८–भल्व इन्जिन रहेको छ, जसले ४०.९ एचपी पावर र ३१.५ एनएम टर्क जेनेरेट गर्छ भने ६ स्पिड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच र ७–इन्च टीएफटी डिस्प्ले छ, जुन मोर्बिडेली कनेक्ट एपसँग एकीकृत छ ।
मोर्बिडेली टी३५२एक्सको मूल्य ९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँमै पाउन सकिने कम्पनीको भनाइ छ ।
यता मोर्बिडेली टी२५२एक्समा २४९.५३ सीसी क्षमताको डबल सिलिण्डर, फोर स्ट्रोक इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ३३.५ हर्स पावर तथा २० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ । यसका साथै १७ इन्च अलोय ह्विल, यूएसबी फ्रन्ट फोर्क, टीएफटी डिस्प्ले उपलब्ध छ।
चेतक
बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक ३५०१ पनि लन्च भएको छ । यसमा ३.५ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ । यसबाट नेपालका सहरी तथा सहरोन्मुख सबै स्थानका लागि यो स्कुटर उपयुक्त हुने कम्पनीको भनाइ छ । यसलाई फास्ट चार्जिङ टेक्नोलोजीमार्फत शून्य देखि ८० प्रतिशत सम्म ३ घण्टामै चार्ज गर्न सकिन्छ । विभिन्न डिलरमार्फत सो स्कुटर बुकिङ पनि गर्न सकिन्छ । यसको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।