साउन २२, एजेन्सी ।। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेअनुसार ९० भन्दा बढी देशले तिनका सामान अमेरिका जाँदा तिर्नुपर्ने नयाँ ट्यारिफको दर बिहीवारदेखि कार्यान्वयनमा आएको छ।
ट्यारिफ लागु भएपछि अब विभिन्न देशबाट अमेरिका सामान आयात गर्ने कम्पनीहरूले अमेरिकी सरकारलाई कर तिर्नुपर्ने छ। ती कम्पनीहरूले त्यसरी बढेको खर्चको भार उपभोक्तामाथि थपिदिने अनुमान विज्ञहरूको छ।
अमेरिकामा उच्च ट्यारिफ तिर्नुपर्ने देशमध्ये ब्रजिल पनि पर्छ। ब्रजिलबाट आयातित अधिकांश वस्तुमा ५० प्रतिशत शुल्क तोकिएको छ।
भारतमाथि पनि ट्रम्पले ५० प्रतिशत शुल्क तोकेका छन्। भारतीय वस्तुमाथि २७ अगस्टदेखि ट्यारिफ लाग्ने छ। नेपाली वस्तुमाथि पनि ट्रम्पले ट्यारिफ लगाएका छन्। तर त्यो १० प्रतिशत मात्र छ।
अमेरिका र चीनबीच ट्यारिफको विषयमा वार्ता भइरहेको छ। दुवै देश १२ अगस्टसम्म नयाँ ट्यारिफ लागु नगर्न सहमत भएका छन्।