-गीताश्री शर्मा//
कल्पनाबाट मात्र होइन
आँखाले संसार चिहाउन थालेपछि
आमाले कम्मरमा बाँधेको
बाह्रहाते पटुकी सम्झन्छु,
बेस्सरी सात फन्को कस्सिएको हुन्थ्यो,
कहिले छड्के पारेर
बाले भिरेको खुकुरी जस्तो
हँसिया त कहिले खुर्मी भिरेको हुन्थ्यो,
पँधेराबाट पानी भरेर आउँदा कहिले
तामाको गाग्री अड्याएर बोकेको हुन्थ्यो,
अनि कहिले कल्पना गर्थें म
बिँडा हो कि पटुकी हो यो ?
आमाले कम्मरमा कसेर बाँधेको पटुकी
दाउराको गह्रौँ भारी बोक्दा
डोकाको चौतारी बन्थ्यो ।
पँधेरामा गएर धुन नभ्याएपछि
सायद मैलो भएर हुनसक्छ
नयाँ रङको देखिन्थ्यो ! अनि
आमा आमा मीठो बास्ना आउँथ्यो !
अनि मलाई लाग्थ्यो –
यसमा सधैँ लुटुपुटु गरिरहौँ ।
कहिले रिट्ठा र खरानीमा भकभक उम्लिन्थ्यो
अनि काठको मुङ्रराबाट
भक्कु चुटाइ खान्थ्यो
फेरि चर्को घाम लाग्दा डोरीमा
चह चह पिङ् खेलेर सुक्थ्यो
अनि फेरि
महिनौँ दिनलाई आमाको कम्मरमा बास पाउँथ्यो ।
तर पनि म आमालाई झिझ्याइरहन्थेँ
किन बेरिन्छ घरी घरी त्यो ?
मेला-पात र अर्मा पर्मामा
आमाको उर्जा बनेको देखेँ पटुकी
छोरा-छोरीको पापी पेट भर्न र
स्कूलका खाता-किताब
लुगाफाटा र यूनिफर्म ल्याउन
टक्सारी बनेको देखेँ त्यो पटुकी ।
आमाको शक्ति , उर्जा र सहास
अनि! भरोसा र विस्वास थियो पटुकी
साथ नछोड्ने सारथी बन्यो पटुकी
वर्षेनी जन्मिएका लालाबाला
पिठ्युँमा बोकेर
गाईका भक्कारा र बाख्रालाई
घाँस-खोले दिन र
ढाड सोझ्याउने र टेवा दिने सहारा भयो पटुकी।
मेला पात र पर्मा परेलीमा
टुसुक्क बसेर खान नभ्याएपछि
भुटेका मकै पोल्टामा बोकेर ल्याउने साधन बन्थ्यो पटुकी ।
कतै गाउँमा ऐँचौपैँचो खोज्न जानपरे
एक छेउको फेर नै
पछाडी पट्टीको भाग छोप्ने
दह्रिलो सहारा हो यो पटुकी ।
दिन, रात, महिना, वर्ष हुँदै
आठौँ दशक बितेपछि
अब नवौँ सङ्घारमा छ!
सङ्घर्षमा आज पनि आमाको
घिस्रिनलाई साथ छोडेको छैन
ढाड दुखेको पनि
अचुक औषधि भएर बसेको छ
अवर्णनीय आमाको पटुकी ।
**