ज्योतिषी, पुरोहित र पुराणवाचकले अनिवार्य ‘लाइसन्स’ लिनुपर्ने व्यवस्था गर्न लागिएको हो?


१२ माघ २०८१, शनिबार ०९:१७ मा प्रकाशित

माघ १२, झापा । नेपालमा हिन्दू धर्मअन्तर्गत कर्मकाण्ड गर्ने, ज्योतिष सेवा दिने तथा पुराणवाचन गर्नेलाई अनुमतिपत्र अर्थात् ‘लाइसन्स’ जारी गर्ने प्रस्तावबारे “छलफल चलिरहेको” पञ्चाङ्ग निर्णायक विकास समितिका अधिकारीले जनाएका छन्।

Advertisement

उनीहरूका अनुसार त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्न एउटा नियमावलीको मस्यौदासमेत तयार पारिँदै छ।

अधिकारीहरू “धार्मिक गतिविधिका नाममा विकृति बढेको” भन्दै त्यसलाई न्यूनीकरण गर्न ‘अनुमतिपत्र आवश्यक देखिएको’ बताउँछन्।

“सबै प्रकारका आम्दानी गर्नेलाई करको दायरामा ल्याउन” र व्यावसायिक सुरक्षाका लागि पनि यस्तो व्यवस्था आवश्यक परेको उनीहरू बताउँछन्।

विज्ञापन

तर परम्पराका रूपमा चलिरहेका यस्ता कार्यलाई लाइसन्स लिएर नियमन गर्नु उचित नभएको र त्यसले “थप समस्या निम्तिन सक्ने” कतिपय संस्कृतिविद्‌को भनाइ छ।

किन उठ्यो लाइसन्स जारी गर्नुपर्ने माग?

कर्मकाण्ड गराउँदै एक पुरोहित
तस्बिरको क्याप्शन,साङ्केतिक तस्बिर

पछिल्ला केही वर्षहरूमा नेपालका विभिन्न हिन्दू धार्मिक समूहले “पुराणको आधारभूत ज्ञानसमेत नभएका व्यक्ति”ले कथावाचन गरेको भन्दै त्यसका लागि मापदण्ड तोक्नुपर्ने माग गर्दै आएका छन्।

उनीहरूले सामाजिक सञ्जालसहित विभिन्न धार्मिक कार्यक्रमहरूमा त्यसका लागि अभियान नै चलाइरहेको पाइएको छ।

उनीहरूले समिति तथा सरकारसमक्ष पनि “योग्य व्यक्तिले मात्र पुराणवाचन गर्न पाउने” व्यवस्था गर्न माग गरिरहेका छन्।

त्यस्तैमध्येको एक हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले “धार्मिक मर्यादा बिग्रँदै गएकाले त्यो मर्यादालाई कायम राख्न” पहिले प्रशिक्षण दिएर ‘योग्यताको प्रमाणपत्र जारी गर्नुपर्ने’ बताए।

उक्त संस्थाले धर्मपरिवर्तन तथा धर्मनिरपेक्षताको विरोध गर्ने गरेको छ।

उक्त संस्थाहरूसहित हिन्दू धर्मसँग सम्बन्धित विभिन्न संस्थाहरूले कथावाचकलाई परीक्षा लिएर प्रमाणपत्र जारी गर्नुपर्ने अभियान चलाउँदै आएका छन्।

त्यस्तो माग उठ्न थालेपछि आफूहरूले पनि कथावाचकसहित ज्योतिषी र कर्मकाण्डका काम गर्नेहरूलाई समेत “मर्यादामा राख्न” लाइसन्स दिने प्रणाली विकास गर्ने प्रयास गरिरहेको पञ्चाङ्ग निर्णायक समितिका अधिकारीहरू बताउँछन्।

समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले भने, “यो अव्यवस्थित भयो, अशास्त्रीय भयो भनेर सबैतिरबाट कुरा चलेकाले यसलाई व्यवस्थित गर्न लाइसन्स दिनुपर्‍यो भनेर हामी लागेको हो। यस विषयमा हामीले मन्त्रालयमा गएर प्रस्ताव पनि राखेको हो।”

“योसँग सम्बन्धित नेपाल ज्योतिष परिषद्लगायतका संस्थाहरूसँग पनि यसबारे छलफल गरेका हौँ।”

तर सबैसँगको छलफलपछि दक्ष जनशक्ति तयार पारेर मात्र प्रक्रिया अघि बढाउनु पर्छ भन्नेमा आफूहरू पुगेको उनको भनाइ छ।

लाइसन्स जारी गर्नेबारे पटकपटक छलफल भएको र त्यो क्रम जारी रहेको समितिका कार्यकारी निर्देशक तथा सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।

उनले भने, “अहिले समाजमा धार्मिक गतिविधि धर्मप्राप्तिका लागि भन्दा पनि अर्थप्राप्तिका लागि हुन थाले। त्यसले धर्मप्रति नै अनास्था र अविश्वास पनि बढायो।”

“धार्मिक कार्य पनि किनबेच हुने अवस्था बनेपछि त्यस्तो हुनुहुँदैन र योग्य व्यक्तिले मात्र धार्मिक कार्य गराउन पाउने अवस्था बनोस् भनेर लाइसन्सको विषय उठेको हो।”

पञ्चाङ्ग निर्णायक समिति के गर्दै छ?

पशुपति क्षेत्रमा धार्मिक ग्रन्थ पढ्दै एक साधु
तस्बिरको क्याप्शन,पशुपति क्षेत्रमा धार्मिक ग्रन्थ पढ्दै एक साधु

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ज्योतिषशास्त्रसम्बन्धी गतिविधि र नेपाली पात्रोको नियामक अधिकारसमेत पाएको निकाय हो।

हाल पुराणवाचक, ज्योतिषी र कर्मकाण्ड गर्नेहरूलाई लाइसन्स दिने व्यवस्था मिलाउने “प्रस्तावबारे छलफल भइरहेको र त्यसलाई चाँडै क्रमश: अघि बढाइने” समितिका अध्यक्ष अधिकारी बताउँछन्।

उनले भने, “सबैभन्दा पहिले त यी कार्य गर्नेहरूलाई प्रशिक्षण दिनुपर्‍यो, अनि त्यसपछि उक्त प्रशिक्षणको प्रमाणपत्रका आधारमा अनुमति दिने व्यवस्था गर्नुपर्छ।”

“त्यसका लागि वैधानिक व्यवस्था, अर्थ र जनशक्तिको आवश्यकता पर्ने भएकाले त्यसबारे हामीले मन्त्रालयलाई प्रस्ताव गर्नुपर्छ।”

समितिले हालसम्म त्यसबारे कुनै औपचारिक निर्णय गरेर मन्त्रालयलाई प्रस्ताव गरेको छैन।

यद्यपि त्यसबारे संकृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका अधिकारीहरू तथा मन्त्रीसँग मौखिक रूपमा कुराकानी भएको उनले बताए।

उक्त प्रस्तावलाई अघि बढाउने क्रममा समितिले एउटा नियमावलीको मस्यौदा तयार गरिरहेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए।

“एकडेढ महिनाभित्र त्यसलाई पूर्ण गरेर हामी मन्त्रालयलाई पठाउने तयारीमा छौँ,” उनले भने।

समितिले लाइसन्स दिन सक्छ कि सक्दैन?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेशअनुसार बनेको संस्कृति मन्त्रालयअन्तर्गतको निकाय हो।

विसं २०७७ सालको गठन आदेशमा विकास समिति ऐन, २०१३ ले दिएको अधिकार प्रयोग गरेर पञ्चाङ्ग निर्णायक समितिको गठन भएको उल्लेख छ।

गठनपश्चात् मन्त्रालयस्तरबाट जारी भएको निर्देशिकाअनुरूप उक्त निकाय चलिरहेको अधिकारीहरूले बताए।

पञ्चाङ्ग निर्णायक समितिले कस्ता गतिविधि गर्न पाउँछ भनेर उसको गठन आदेशमा उल्लेख छ।

गठन आदेशअनुसार समितिले लाइसन्स जारी गर्ने अधिकार पाएको छैन। तर प्रशिक्षण दिने अधिकार पाएको छ किनकि त्यहाँ तोकिएका समितिका काम, कर्तव्य र अधिकारको सूचीमा प्रशिक्षणसमेत पर्छ।

हिन्दू धर्म

त्यसमा भनिएको छ, ” ज्योतिषशास्त्र, धर्मशास्त्र र कर्मकाण्डसम्बन्धी विषयमा तालिम र प्रशिक्षण सञ्चालन गर्ने, परामर्श सेवा प्रदान गर्ने। … आफ्नो कार्यक्षेत्रको विषयमा सभा, सम्मेलन, गोष्ठी, प्रवचन आदिको आयोजना गर्ने ।”

त्यसमा समितिले “पञ्चाङ्गसम्बन्धी विषयमा निर्णय गर्दा धर्म, संस्कृति, ज्योतिषशास्त्र र लोकपरम्पराका आधारमा गर्ने छ” भन्ने पनि उल्लेख छ।

कार्यकारी निर्देशक ढुङ्गेल गठन आदेशमा अनुमतिपत्र प्रदान गर्ने व्यवस्था नभएकाले त्यसलाई पनि समेटेर नियमावली बनाइरहेको बताउँछन्।

नियमावलीलाई मन्त्रालयले अघि बढाएमा मन्त्रिपरिषद्‌बाट पारित भएसँगै त्यो लागु हुन्छ।

तर अध्यक्ष अधिकारीले लाइसन्स दिने व्यवस्था गर्नका लागि ऐन नै आवश्यक पर्ने देखिएको बताए।

उनले भने, “वैधानिक आधारका लागि ऐन नै बनाउनु पर्ने हुन सक्छ त्यसैले यो विषयमा निर्णय हुन समय लाग्न सक्छ। हामीले भित्रभित्र छलफल चलाइरहेका छौँ।”

‘सुरुमा तालिम दिने’

हिन्दू धर्म

अध्यक्ष अधिकारीले लाइसन्स जारी गर्ने वैधानिक व्यवस्थाका लागि प्रस्ताव अघि बढाउँदा “दक्ष जनशक्तिको अभाव”मा अहिले भइरहेका धार्मिक कार्यहरू नै रोकिने अवस्था आउन सक्ने भनिएपछि सुरुमा प्रशिक्षण दिने योजना अघि बढाइएको बताए।

उनले भने, “मन्त्रालयबाट पनि परम्परागत कार्य नै रोकिन सक्लान् भन्ने कुरा आयो त्यसपछि हामीले अहिले तालिमलाई प्राथमिकता दिएर विस्तारै लाइसन्सको काम अघि बढाउनु पर्छ भन्ने योजनाअनुसार गरिरहेका छौँ।”

“हामीले बर्सेनि नियमितरूपमा तालिमहरू चलाइरहेका छौँ र त्यसमा उत्साहजनक सहभागिता रहने गरेको छ।”

कार्यकारी निर्देशक ढुङ्गेलले पनि ‘जनमानसबाट पनि कर्मकाण्ड र ज्योतिष सेवामा जसरी प्राप्त हुनुपर्ने, त्यसरी सेवा प्राप्त नभएको’ गुनासो आएको बताए।

“त्यसैले हामीले पहिलो चरणमा देशैभरि तालिमको व्यवस्था गर्ने अनि त्यसपछि मात्र लाइसेन्सको व्यवस्था गर्ने गरी प्रस्ताव गर्न लागेका छौँ,” उनले भने।

उनले त्यस्तो तालिम चाहिँ अन्य संस्थाहरूले पनि दिने र प्रमाणपत्र चाहिँ सरकारी स्तरबाट जारी हुनुपर्छ भन्ने धेरैको धारणा रहेको बताए।

हिन्दू जागरण नेपालका अध्यक्ष उपाध्याय चाहिँ समितिबाहेक आफ्नो नेतृत्वको संस्था कथा व्यास समाज र सनातन विद्वत् परिषद्जस्ता संस्थाहरूको समन्वयमा प्रशिक्षणका साथै प्रमाणपत्र दिने व्यवस्था गर्नुपर्ने आफूहरूको माग रहेको बताउँछन्।

“सरकारी स्तरबाट तत्काल भएन भने पनि कम्तीमा हामी सबै बसेर एउटा मापदण्ड तोकी त्यस्तो पूरा गर्नेलाई प्रमाणपत्र जारी गरौँ भन्ने अभियानमा छौँ,” उनले भने।

पशुपति क्षेत्रमा नयाँ ‘अनुमतिपत्र’ जारी गरिने

पशुपति क्षेत्र
तस्बिरको क्याप्शन,पशुपति क्षेत्रका केही पुरोहितहरूलाई एक दशकअघि अनुमतिपत्र जारी गरिएको थियो

समितिले देशैभरिका लागि अनुमतिपत्र जारी गर्ने प्रस्तावबारे छलफल अघि बढाइरहेका बेला काठमाण्डूको पशुपति क्षेत्र विकास कोषले भने पाशुपत क्षेत्रमा छुट्टै अनुमतिपत्र दिने व्यवस्था गर्न लागेको अधिकारीहरूले बताए।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले भने, “यहाँ पहिले पनि अनुमतिपत्रको व्यवस्था गरिएको र दिइएको रहेछ। उहाँहरूले नवीकरणका लागि माग गर्नुभएको थियो।”

“त्यसपछि हामीले उहाँहरूसहित सबैलाई समेट्ने गरी त्यस्तो अनुमतिपत्र जारी गरेर परिचयपत्रसहितको व्यवस्था गर्न लागेका छौँ।”

उनले पशुपति क्षेत्रमा “गलत कार्य नहोस्” भनेर नियमनका लागि त्यस्तो व्यवस्था गर्न लागिएको बताए।

उनका अनुसार एक दशकअघि पशुपति क्षेत्रमा सेवा दिनका निम्ति केही पुरोहितहरूलाई अनुमतिपत्र जारी गरिएको पाइएको छ।

उनले भने, “त्यस बेला एकखाले परीक्षणसमेत गरेर उहाँहरूलाई अनुमतिपत्र र परिचयपत्र जारी गरिएको रहेछ। हामीसँग यहाँ वेद विद्याश्रमका प्राचार्य र गुरुहरू पनि हुनुहुन्छ। विज्ञहरूसमेत राखेर हामी व्यवस्थापनका लागि अनुमतिपत्र जारी गर्न लागेका छौँ।”

पहिले अनुमतिपत्र दिँदा समितिले पोसाकसमेत तोकेर अनुमति दिएको अधिकारीहरूले बताएका छन्।

जोशीले एउटा कार्यविधि बनाएर पशुपति क्षेत्रमा कर्मकाण्ड गराउने पुरोहितहरूलाई अनुमतिपत्र दिन लागिएको जानकारी दिए।

‘समस्या आउन सक्छ’

पशुपति क्षेत्रमा हरेक साँझ हुने आरती
तस्बिरको क्याप्शन,पशुपति क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ

पशुपति क्षेत्र विकास कोषका पूर्व पदाधिकारीसमेत रहेका संस्कृतिविद् गोविन्द टण्डन कर्मकाण्ड गर्नेदेखि ज्योतिषी र कथावाचकलाई लाइसन्स जारी गर्ने काम त्यति सहज नभएको बताउँछन्।

यद्यपि उनले आफ्नै पालामा पशुपति क्षेत्रका पुरोहितहरूलाई अनुमति दिने प्रणाली सुरु गरेको बताउँदै “अहिले त्यस बेला पनि गलत गरिएछ” जस्तो लागेको बताए।

उनले भने, “अनुमतिपत्र जारी गरेर मात्र नहुने रहेछ, त्यसको अनुगमन गर्ने अवस्थामा क्षेत्र विकास कोष रहेनछ।”

त्यस्तै उनले मानिसको जीवनदेखि मृत्युसम्मका संस्कारसँग जोडिएको विषयलाई नियमन गर्न सम्भव नहुने बताए।

“यो व्यक्तिले स्वच्छाले गर्ने वा नगर्ने विषय हो, त्यसैले यसबारे कडिकडाउ गर्दा समस्या निम्तिन सक्छ र त्यो चाहँदैमा हुन्छ भन्ने पनि हुँदैन,” उनले भने।

“मानिसको संस्कार र जीवनसँग जोडिएको विषयलाई नियमन गर्न सजिलो हुँदैन।”

उनले कसैले गलत काम गरेका छन् भने त्यसको न्यूनीकरणका लागि जनचेतना जगाउनुपर्ने आवश्यकता औँल्याए।

“मुख्य भनेको जनचेतना र शिक्षाको कुरा हो, सरकारले त्यतातर्फ ध्यान दिनुपर्छ। नत्र यस्तो नियमन गर्ने विषयले थप जटिलता निम्त्याउन सक्छ र यसप्रति नकारात्मकता बढ्छ जस्तो मलाई लाग्छ,” उनले भने।

पञ्चाङ्ग निर्णायक समितिको प्रस्तावबारे बीबीसीले सोधेको प्रश्नमा संस्कृति मन्त्रालयका कम्तीमा दुई जना अधिकारीहरूले “औपचारिक रूपमा प्रस्ताव नआएकाले” त्यसबारे आफूहरूले केही बताउन नसक्ने जनाए।

बीबीसी न्यूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here