अध्यक्ष सहित केन्द्रिय पदाधिकारी प्रेस चौतारीमा प्रवेश, माधव नेवाल निकट प्रेस संगठन विघटनको अवस्था


४ माघ २०८१, शुक्रबार १८:२५ मा प्रकाशित

माघ ४, काठमाडौं । एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता हुनुभएको छ । माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका संस्थापक अध्यक्ष सुवेदी अब प्रेस संगठन र माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी समाप्त हुने भन्दै शुक्रबार पुरानै संगठन प्रेस चौतारी नेपालमा फर्कनु भएको हो । सुवेदी विभाजित भएर जानु अघि प्रेस चौतारी नेपालको उपाध्यक्ष हुनुहुन्थ्यो । बागबजारको होटेल हार्दिकमा आयोजित कार्यक्रममा सुवेदीसँगै सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा फर्कनु भएको छ । अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरू प्रेस चौतारीमा फर्किएपछि प्रेस संगठन समाप्तिको बाटो तर्फ अघि बढेको छ । कार्यक्रममा बोल्दै सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप गर्नुभयो । प्रेस चौतारीमा बस्दा लेख्न पाइँदैन, बोल्न पाइँदैन भनी आफूहरूलाई भन्ने गरिएको भए पनि एकीकृत समाजवादीमा लेखेकै कारण आफूलाई स्पष्टीकरण सोधिएको उहाँले बताउनुभयो । ‘प्रेस स्वतन्त्रताको पक्षमा हामी लडेर हिँड्ने, तर आफैँ आबद्ध पार्टीले त्यसमा बन्देज लगाउने, त्यो पनि विधि र पद्धतिको कुरा गर्नेले, त्यसैले त्यो निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा फर्किएको छु’, उहाँले भन्नुभयो । एकीकृत समाजवादीमा पत्रकार मात्र होइन पार्टीका अन्य नेताहरूले पनि बोल्न नपाउने उहाँले बताउनुभयो । आफू कुटिएको कुरा पार्टीमा राख्न खोज्दा समेत माधव नेपालले कुरा राख्न नदिएको उहाँले बताउनुभयो । त्यहाँ निरङ्कुशता र आर्थिक अनियमितताले सीमा नाघेको सुवेदीले सुनाउनुभयो । अघिल्लो दिन मन्त्री बनाएर पठाएको मानिसलाई भोलिपल्टबाट ४ करोड र ५ करोड माग्ने गरिएको सुवेदीले जानकारी दिनुभयो । यस्तो विकृति देख्दा आफूलाई पहिलेदेखि नै सो पार्टी र संगठन छाड्न मन लागेको भए पनि संगठनको अधिवेशनमा आफू अध्यक्ष निर्वाचित भएपछि निर्वाचित भएका साथीहरू समेत लिएर चौतारीमा आउन केही ढिलाइ गरेको उहाँले बताउनुभयो । प्रेस संगठनका ९० प्रतिशत पत्रकारहरू प्रेस चौतारी नेपालमा चौतारीको महाधिवेशन अगाडि नै आउने उहाँले जानकारी दिनुभयो । सुवेदीले आफू कुनै कुरा आस गरेर प्रेस चौतारी नेपालमा नआएको बताउनुभयो । आफूले प्रेस चौतारी नेपाल छाड्दा भएको घाटालाई पूर्ति गर्ने गरी काम गर्ने सुवेदीले बताउनुभयो । संगठन र पार्टीले जहाँ ठाउँ दिन्छ आफू त्यहीँ बसेर काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here