माघ २, मेचीनगर ।। धुलावारी माविमा कम्प्युटर प्रविधि कक्षा हस्तान्तरण लगायतका कार्यक्रममा सहभागी हुने नेपाल आएका बेलायती नागरिक रे जनसनलाई मंगलबार साँझ एक कार्यक्रमबीच विदाई गरिएको छ ।
गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धनकिरण गुरुङ, उपाध्यक्ष अल्का गुरुङ सहितको टोलीमा सहभागी भई नेपाल आएका जनसनलाई गोर्खा मेमोरियल फाउण्डेसन नेपालले विदाई कार्यक्रम गरेको हो । जनवरी १० तारिख अर्थात पुस २६ गते मेचीनगर आउनु भएको जनसनले मेचीनगरका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएर माघ २ गते काठमाण्डौ फर्कनु भएको हो । त्यस पछि उहाँ बेलायत फर्कने कार्यक्रम तय भएको फाउण्डेसनका अध्यक्ष गंगालाल गुरुङले जानकारी दिनु भयो ।
गोर्खा मेमोरियल फण्ड युकेको सहयोगमा धुलावारी माविमा स्थापना भएको कम्प्युटर ल्याब सहितको कक्षाका लागि रे जनसन सहयोगी दाताका रुपमा रहेको फण्डका अध्यक्ष धनकिरण गुरुङले बताउनु भयो । गोर्खा मेमोरियल फण्ड युकेका दाता तथा कार्यक्रम संयोजक समेत रहेका जनसन फोक्स्टन सिटी युकेका च्याम्बर अफ कमर्शका अध्यक्ष समेत हुन् ।
गोर्खा मेमोरियल फाउण्डेसन नेपालका अध्यक्ष गंगालाल गुरुङको अध्यक्षतामा आयोजित ंविदाई कार्यक्रममा युकेका अध्यक्ष धनकिरण गुरुङले जनसनले गोर्खा मेमोरियल फण्डलाई गरेको सहयोग र योगदानका बारेमा चर्चा गर्नु भएको थियो । नेपाल बसाईको पाँच दिनका बारेमा जनसनले अत्यन्तै राम्रो अनुभव भएको बताउनु भयो । अघिल्लो पटक भन्दा यस पटक बढि उपलब्धीमूलक भएको र यसबाट धेरै राम्रो अनुभव गर्न पाएको बताउनु भयो । नेपालीहरुको स्वागतले प्रभावित भएको बताउँदै फेरि पनि नेपाल आउने मन भएको बताउनु भयो ।
मेचीनगर बसाईका सिलसिलामा युकेबाट आउनु भएका जनसन सहितको टोलीले बाहुन्डागीमा आयोजित तरुल उत्सव, प्रकृति पार्क, बहुतले खेती लगायतको भ्रमण अवलोकन गरेको थियो । यसैबिच मेची उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी मेचीनगरको उद्योगा वाणिज्य संघ र फोक्स्टन सीटीको च्याम्बर अफ कमर्सबिच भगिनी सम्बन्धका लागि प्रस्ताव गरेको थियो । मेचीनगर उद्योग वाणज्य संघको प्रस्तावलाई जनसनले सकरात्मक रुपमा लिएको र आफुले सो प्रस्ताव जस्ताको तस्तै आफ्नो चेम्बरमा राख्ने आश्वसन दिनु भएको उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताउनु भयो ।
जनसन यहि जवरी १७ तारिख वेलायत फर्कने कार्यक्रम रहेको गोर्खा मेमोरियल फाउडेसन नेपालका उपाध्यक्ष जगत गुरुङले जानकारी दिनु भएको छ ।