राष्ट्र र राष्ट्रियताका पक्षधरहरू साइबर आक्रमणको निशानामा : प्रेस चौतारी अध्यक्ष बस्नेत


१ माघ २०८१, मंगलवार ०८:४० मा प्रकाशित

माघ १, काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले राष्ट्र र राष्ट्रियताका पक्षधरहरू अहिले साइबर आक्रमणको निशानामा परेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रीय समितिमा मनोनीत सदस्यहरूको शपथग्रहण तथा स्वागत गर्न प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले त्यसैको निशानामा प्रधानमन्त्री केपी ओली तथा उहाँका समर्थक र शुभचिन्तकहरू परेका बताउनुभयो । ‘केपी ओलीको नाम सुन्ने बित्तिकै एक खालको आक्रमण गर्ने काम भएको छ, २०७२ सालदेखि केपी ओलीले नेपालको राष्ट्रियताको पक्षमा जुन अडान राख्नु भयो र मुर्झाएको सपनालाई ब्युँताएर जुन समृद्धिको खाका बनाउनुभयो, त्यसबाट नेपाल बन्छ भनेर तर्सिएका शक्तिहरू नेकपा एमालेका विरुद्ध लागेका छन्’, बस्नेतले भन्नुभयो । प्रेस चौतारीमा आबद्ध पत्रकारहरूले एमाले र केपी ओली विरुद्धको आक्रमण नेपालको समृद्धि विरुद्धको आक्रमण हो भन्ने कुरा बुझ्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘यो नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय झण्डा माथिको आक्रमण हो भन्ने बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो । आजको युद्ध भनेको साइबरवार भएको बताउँदै बस्नेतले यो युद्ध जित्नै पर्ने बताउनुभयो । आज समृद्धिका सपना विरुद्ध साइबर आक्रमण भइरहेकोले यो युद्धका विरुद्ध विजय प्राप्त गर्न जरुरी रहेको उहाँले बताउनुभयो । साइबर आक्रमण गर्नेले जस्तै गरी छाडा हिसाबले होइन शिष्ट र तर्कपूर्ण ढङ्गले उनीहरूको प्रतिवाद गर्नुपर्नेमा बस्नेतले जोड दिनुभयो । सबै खालका विकृति र विसङ्गतिका विरुद्ध श्रेष्ठता हासिल गरेका प्रेस चौतारी नेपालका योद्धाहरूले यो आक्रमण विरुद्धको प्रत्याक्रमणमा पनि श्रेष्ठता हासिल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रेस चौतारीमा विगतमा जिम्मेवारी दिन नसकिएका पत्रकारहरूलाई अहिले केन्द्रीय समितिमा मनोनीत गरिएको बताउनुभयो । कतिपय पत्रकार महासंघ र अन्य ठाउँमा पठाउन रिजर्भ गरेर राखिएका पत्रकारहरूलाई ती ठाउँमा पठाउन नसकिएको बताउँदै उहाँले अहिले उहाँहरूलाई केन्द्रीय समितिमा मनोनीत गरिएको बताउनुभयो । संगठन बनाउने, मिलाउने र चलाउने क्रममा यस्ता काम गर्नुपर्ने बस्नेतको भनाइ छ । व्यक्ति फेरिए पनि संगठन नफेरिन उहाँले स्पष्ट पार्नुभयो । सबै क्षमतावान् पत्रकारहरू भएको प्रेस चौतारी नेपालमा एकै पटक सबै पत्रकारलाई जिम्मेवारीमा लैजान नसकिएको बताउँदै उहाँले ढिलो–चाँडो सबैले अवसर पाउने बताउनुभयो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here