अंग्रेजी नयाँ वर्ष सन् २०२५ को सुरुवातदेखि नै ह्वाट्सएपको सेवा कतिपय पुराना मोडेलका एन्ड्रोइड स्मार्टफोनमा बन्द हुँदैछ।
ह्वाट्सएपको मातृ कम्पनी मेटाले आगामी जनवरी १ देखि किटक्याट अपरेटिंग सिस्टम तथा त्यसभन्दा पुराना संस्करणका अपरेटिंग सिस्टममा चल्ने एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नचल्ने जानकारी दिएको छ । एपको सुरक्षालाई कायम राख्ने कम्पनीको रणनीतिको हिस्साका रुपमा मेटाले त्यस्तो कदम उठाउने गर्दछ ।
सन् २०१३ मा लञ्च भएको एन्ड्रोइड अपरेटिंग सिस्टम किटक्याट निकै पुरानो भैसकेको छ र यसमा चल्ने स्मार्टफोनमा सेक्योरिटी अपडेट प्राप्त हुन छाडिसकेको छ । जसका कारण यस्ता स्मार्टफोनमा ह्वाट्सएप चलाउने प्रयोगकर्ताका लागि सुरक्षा खतरा बढेको छ । किनकि अधिकांश स्मार्टफोनमा अहिले पछिल्ला नयाँ एन्ड्रोइड भर्सन अपडेट भएका हुन्छन् ।
पुराना मोडेलका फोनमा ह्वाट्सएपको सपोर्ट बन्द गर्नुको अर्थ त्यसमा रहेको ह्वाट्सएप पूर्ण रुपमा चल्दैन भन्ने होइन । तर अब ह्वाट्सएपले ती फोनमा रहेको ह्वाट्सएपमा सेक्योरिटी अपडेट, बग फिक्स वा सेक्योरिटी प्याच जस्ता सेवा प्रदान गर्ने छैन ।
आगामी जनवरी १ देखि ह्वाट्सएपको सेवा बन्द हुने स्मार्टफोनको सूची यस्तो छ :
Samsung: Samsung Galaxy S4 Mini, Samsung Galaxy S3, Samsung Galaxy Note 2, Samsung Galaxy Ace 3
Motorola: Moto G, Moto RAZR HD, Moto E 2014
HTC: HTC One X, HTC One X+, HTC Desire 500, HTC Desire 601
LG: LG Optimus G, LG Nexus 4, LG G2 Mini, LG L90
Sony: Sony Xperia Z, Sony Xperia SP, Sony Xperia T, Sony Xperia V
ह्वाट्सएपका अनुसार अब ह्वाट्सएपले केवल एन्ड्रोइड ५.० तथा त्यसभन्दा नयाँ अपरेटिंग सिस्टम भएका एन्ड्रोइड फोनका साथै आइओएस १२ तथा न्यसभन्दा नयाँ अपरेटिंग सिस्टम भएका आइफोनमा मात्रै काम गर्नेछ ।
आइफोन ५ एस, आइफोन ६र आइफोन ६प्लसमा ह्वाट्सएप नचल्ने कुरा यसअघि नै मेटाले बताइसकेको छ । यद्यपि आइफोन प्रयोगकर्ताले आगामी मे ५ सम्म आफ्नो डिभाइस अपग्रेड गर्न सक्नेछन् ।