‘सोनसरी भोकै निदाई’को लोकार्पण


१३ पुष २०८१, शनिबार २२:०१ मा प्रकाशित

पुस १३, झापा साहित्यकार भीम खवासको ‘सोनसरी भोकै निदाई’ नामक कथा संग्रहको आज लोकार्पण भएको छ ।

Advertisement

मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार कृष्ण धराबासीले मेचीनगर–१० धुलाबारीमा रण–खड्ग खवास फाउन्डेसनद्वारा आयोजित एक समारोहमा पुस्तकको लोकार्पण गर्नु भएको हो ।

खवासको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘नबिर्सिएका दिनहरु’ नामक संस्मरणात्मक कृति प्रकाशित भइसकेको छ ।

साहित्यकार धराबासीले ३५ वर्ष अघिदेखि राजनीतिकर्मीको रुपमा भीम खवासलाई चिनेको जनाउँदै उहाँमा रहेको साहित्यिक क्षमता बारेमा पहिलो कृति निस्कदा मात्र थाहा पाएको बताउनुभयो ।

उहाँले आफ्‌नी आमाले पनि कथाको पात्र सोनसरी जस्तै कयौं रात भोकै बिताएको बताउनुभयो । उहाँले फाउन्डेसनलाई निरन्तरता दिन खवास परिवारका सन्ततिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कृतिको समीक्षात्मक परिचय प्रस्तुत गर्दै समालोचक चुडामणि वशिष्ठले कृतिमा निम्न वर्गीय परिवारले खेप्ने गरेको पीडालाई आख्यानको रुपमा उतारिएको बताउनुभयो ।

साहित्यकार विष्णु भट्टराई, पूर्व प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, कृषि अभियन्ता भीम कुँवर, संविधानसभा सदस्य अम्बिका खवास, फाउन्डेसनकी सदस्य शीला खवास लगायतले मन्तब्य राख्नु भएको उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार एवम् फाउन्डेसनका अध्यक्ष भीम खवासले र सञ्चालन पत्रकार सन्तोष खवासले गर्नु भएको थियो ।

चार प्रतिभा पुरस्कृत

फाउन्डेसनले दोस्रो वार्षिकोत्सवको अवसर पारेर आज सोही कार्यक्रममा अर्गानिक कृषि अभियन्ता भीम कुँवर, महिला उद्यमी फुलकुमारी चौधरी, सामाजिक अभियन्ता राम बुढाथोकी र उत्कृष्ट विद्यार्थी दिब्या रायालाई पुरस्कृत गरेको छ ।

विद्यार्थी रायालाई रु. पाँच हजार र अरु प्रतिभालाई रु. १५ हजारका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । 

चन्द्रगढी निवासी कृषि अभियन्ता कुँवरले लामो समयदेखि अर्गानिक खेतीका लागि जागरण अभियान सञ्चालन गर्दै आउनु भएको छ भने शिवसताक्षीकी उद्यमी चौधरीले मौरीपालनमा आत्मनिर्भर बनेर उदाहरणीय कार्य गर्नु भएको छ । सामाजिक अभियन्ता कुँवरले फरक क्षमताको व्यक्ति भएर पनि लागू औषधको कुलत हटाउन र स्वरोजगार बनाउन अभियान चलाइरहनु भएको छ । 

कार्यक्रममा नेपाली कांग्रेस झापाका पूर्व उपसभापति एवम् साहित्यकार राम कट्टेल, साहित्यकार गणेश निरौला लगायत झापाका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here