एमालेले रावललाई पार्टी सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन


१० पुष २०८१, बुधबार १९:५० मा प्रकाशित

पुस १०, काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।

Advertisement

बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।

‘कमरेड भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो’ ज्ञवालीले भने, ‘त्यो सल्लाहकारको जिम्मेवारी पनि पूरा गर्नुभएन । र, अभिव्यक्तिहरू चाहिं पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।’

रावलले पछिल्लोपटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएका थिए । यसपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।

पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाएपनि रावलले कुनै जवाफ दिएका थिएनन् । तर आजको सचिवालय बैठकले स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय एमालेले गरेको छ ।

‘स्पष्टीकरण उहाँहरुले दिनु त भयो, तर उहाँहरुले रियलाइज गरेको यसरी पार्टीको विधि भन्दा बाहिर गएर सार्वजनिक रुपमा बोल्नु उचित भएन भन्ने कुराको रियलाइजेसन देखिएन’ ज्ञवालीले भने, ‘त्यसो भएको हुनाले उहाँहरुलाई पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरुको जिम्मेवारीबाट ६ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here