प्रधानमन्त्री ओली आज न्यूयोर्क जाँदै


४ आश्विन २०८१, शुक्रबार ०९:२६ मा प्रकाशित

असोज ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ । उहाँ संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

Advertisement

प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् ।

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभामा यस वर्षको साधारण बहसको विषय रहेको छ– ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

न्युयोर्कमा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने तय भएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुहुनेछ भने असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले भ्रमण क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय वार्तासमेत गर्ने जनाइएको छ ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किनु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here