मेचीनगरमा छैठौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने


१ भाद्र २०८१, शनिबार २१:०१ मा प्रकाशित

भदौं १, काँकरभिट्टा ।। छैठौं राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता मेचीनगरको काँकरभिट्टामा आयोजना हुने भएको छ ।

Advertisement

आज काँकरभिट्टा स्थित हाेटल व्यवसायी संघ मेचीनगरकाे सभाहलमा नाइट चेस क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराएकाे हाे ।

यही भदाै ७ गतेदेखि १० गतेसम्म काँकरभिट्टा खानेपानीकाे सभाहलमा छैठौं राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता हुनेछ ।

नेपाल राष्ट्रिय बुद्धिचाल महासंघकाे प्राविधिक सहयाेग रहने सबै व्यवस्थापन सहितकाे प्रतियोगिता आयोजना नाइट चेस क्लबले गर्ने भएको हाे ।

´प्रतियोगिताबाट २ जना खेलाडी छनाेट हुने छन्`, क्लबका अध्यक्ष विश्वविजय घिमिरेले भने-´करिव १५० जना खेलाडी सहभागी हुने अपेक्षा छ ।`

२ हजारदेखि १७ सयसम्म र १७ सयमुनी गरि दुई क्याटेगाेरीमा खेल सञ्चालन हुने छ । प्रतियोगिताका प्रथमदेखि १०औँसम्मका विजेता खेलाडीलाई पुरस्कारकाे व्यवस्था गरिएकाे क्लबका प्रथम उपाध्यक्ष राजु पौडेलले बताए ।

प्रथम हुने खेलाडीलाई नगद ५० हजार राशिसहित प्रशंसा पत्र प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय स्तरका आर्विटरहरूकाे उपस्तिथि रहनेछ ।

अनुमानित १८ लाख २२ हजार खर्च लाग्ने प्रतियोगितामा स्थानीय सरकार, विभिन्न संघ-संस्था लगायतसँग सहयाेग उठाउने तयारी गरिएको बताइएकाे छ ।

पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष बालाजित राई, शेरबहादुर वस्नेत(सुन्दर) लगायतले प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न गर्न सबैले सहयोग गर्न अनुराेध गरेका छन् ।

प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले र समापन काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङले गर्ने क्लबले जनाएको छ ।

प्रतियोगितामा मुख्य प्रायाेजककाे रूपमा स्थानीय पशुपति बाेडिङ स्कुल र संरक्षकमा मेचीनगर नगरपालिका रहने क्लबका महासचिव राजेश राउतले बताएका छन् ।

२०५४ सालमा काँकरभिट्टामा स्थापित सामाजिक रूपमा सक्रिय क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बुद्वीचाल प्रतियोगिताहरू गरिसकेकाे छ ।

नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेकाे अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष राजु पाैडेलले र सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here