- संगिता कोइराला //
आकाश हेर्छु धरती हेर्छु
अनि हेर्छु आफ्नै धरातल
बिगत खोतल्छु भविष्य सम्झिन्छु
कहाँ थियो गन्तव्य
यात्रा खै कता गरायो जिन्दगीले
बेला बेला घोचिरहन्छ
मुटुले मलाई यहि भनेर
तेरो उपलब्धि के हो?
म जवाफमा सोचिरहन्छु म कहाँ छु म ?
दुनियाँका लागि हास्नुपर्ने
अरुकै लागि बाच्नुपर्ने
मैले आज नखाएर भए पनि
अरुकै लागि भोलिलाई साच्नुपर्ने
अरुलाइ देखाउन सिंगारिनु पर्ने
कसैलाई नदेखाउन आँसु लुकाउनु पर्ने
मैले
मलाई देखाउन मन लागेको
चर्किएको मुटु टाल्नु पर्ने
दुखेको घाउ छोप्नु पर्ने
दुःखलाई ढाक्नु पर्ने
नभए पनि खुशी हास्नु पर्ने
आफ्नाका लागि
समाजका लागि
दुनियाँका लागि
अनि खोइ त म?
घोत्लिन्छु आफैसङ्ग
पिरोलिन्छु भित्रभित्रै
म आफुलाइ गुमाएर आफैलाइ खोजिरहन्छु
अह भेट्दिन
म
आफैमा हराएको आफू
अनि गुमाएको म लाई !
————————–