परिवर्तनको प्रयास: बाहुण्डागीको परिचय बदल्ने अभियान, यस्तो छ भिजनरी वडाध्यक्षको तयारी


२२ श्रावण २०८१, मंगलवार १०:०४ मा प्रकाशित

साउन २२, मेचीनगर ।। मेचीनगरको बाहुण्डागी क्षेत्र हात्तीका कारण देश दुनियामा चर्चित छ । भारतबाट आहाराको खोजीमा आउने सयौंको संख्याका हात्तीले बाहुण्डागीबासीलाई हैरान बनाएका छन् । हात्तीको आक्रमणबाट दजनौं बाहुण्डागीबासीले ज्यान गुमाइसकेका छन् । धनजन र बालीको नोक्सानी र दैनिकको हैरानीका कारण बाहुण्डागीका लागि हात्ति एक दीर्घ समस्याका रुपमा छ । हात्ती प्रकोपबाट सुरक्षित गर्न बाहुण्डागीले अनेक उपायहरु अपनाएको पनि हो ।

Advertisement


हात्ती नियन्त्रणका लागि अपनाइएका सबै उपायहरु निष्प्रभावी भए पछि स्थानीयले बासोवासकै विकल्प खोज्नु पर्ने अवस्था आउन थालेको थियो । यहिक्रममा बाहुण्डागीका युवा अर्जुन कार्कीले “हात्तीसँग लड्ने, भिड्ने होइन मिलेर जाने” नीति लिए । हात्ती र मानवबीचको द्वन्द्व घटाउदै जानु पर्ने उनको धारणा सार्वजनिक हुन थाल्यो । यसले गाउँलेहरुमा जन ठुलो द्वुविधा उत्पन्न गरायो । हात्तीलाई सत्रुका रुपमा व्यहोरेका गाउँले गाउँलेबिच एक पटक त हात हालाहालको स्थिति पनि आयो । त्यसबेलाको घटना स्मरण गर्दै कार्की भन्छन्–“भिड नियन्त्रण गर्न प्रहरीले गोली नै चलाउनु परेको थियो । बाहुण्डागी झन्डै रणमैदाननै बन्यो नि ।” हात्तीलाई साथी बनाउने एजेण्डाले हात्तीबाट आक्रान्त स्थानीय र अर्जुन कार्कीको अवधारणा मान्ने समूहबीच गाउँ विभाजन बन्न पुगेको थियो । “ त्यसबेला स्थानीयलाई कुरा राम्रोसँग बुझाउन नसकेर नै द्वन्द्व बढेको रहेछ ।” कार्कीले भने, “अब कुरा बुझ्दै गएका छन् ।” यतिबेला भने अर्जुन कार्कीकै एजेण्डामा बाहुण्डागीले समृद्धिको बाटो खोजिरहेको छ ।


प्रकृतिलाई पर्यटनसँग जोडेर नै बाहुण्डागीको समृद्धि सम्भव छ भन्ने नाराले नै कार्कीलाई २०७९ को स्थानीय तह निर्वाचनमा मेचीनगर वडा नम्बर ४ को वडा अध्यक्षमा जितायो । यो वडा बाहुण्डागी बजारसहितको क्षेत्रमा पर्ने हुँदा यसैलाई अचेल बाहुण्डागी भन्न थालिएको छ । विभिन्न संघ संस्थासँगको सहकार्यमा बाहुण्डागीका एजेण्डा उठाउँदै आएका कार्की अब भने स्थानीय सरकारका प्रतिनिधि नै बनेका छन् । वडाध्यक्ष बनेपछि उनी निरन्तर वडाको विकास र हात्ती प्रकोपको नियन्त्रणमा केन्द्रित देखिन्छन् । कार्की कै गुरु योजना अन्तरगत हात्तीलाई मेची खोलाको बगरमै छेक्ने र त्यहिबाट फिर्ता पठाउने योजना सहित मेची बगरमा प्रकृति पार्क निर्माण भइरहेको छ । यसले हात्तीलई खोलामै रोक्ने र हात्ती हेर्न आउने पर्यटकलाई पार्कबाट हात्ती दर्शन गराउने योजना रहेको कार्कीले बताएका छन् । जनता तटबन्ध कार्यक्रम अन्तरगत निर्माण भएको बाँधलाई आधार बनाएर पार्क निर्माण भइरहको छ । बाँधको पूर्व खोला पर्छ । खोला तर्फको बगरको निश्चित भागलाई घेराबारा गरेर पार्क निर्माण हुँदैछ । पार्कमा हात्तीलाई खान मन पर्ने बोट विरुवाहरु लगाउने कार्य भइरको कार्कीले बताएका छन् ।


पार्क निर्माणमा सहयोग गर्न मेचीनगरका विभिन्न संघ संस्थाहरुले पनि सहभागिता जनाइरहको छन् । यसै क्रममा वन नेपाल महिला समुह, प्रेस क्लब मेचीनगर. बाहुण्डाँगी नेवारी पासा मुना पुच: तथा मीसा खल पुच: आदिवासी जनजाति महासंघ मेचीनगर लगायतका समूहले वृक्षा रोपण कार्यक्रम सम्पन्न गरिसकेका छन् । पार्कमा दुइवटा कृत्रिम हात्ती बनाइएको छ । खोलाको बगरमा पाइने हुटिट्याउ प्रजातीका चराहरुको प्रतिक निर्माण गरिएको छ । पर्यटकलाई लाभ्याउन र हात्ती प्रकोपको क्षेत्रबाट हात्ती पर्यटनको क्षेत्रमा रुपान्तरण गर्न यो पार्कले ठुलो योगदान गर्ने अध्यक्ष कार्कीको दावी छ । “यसले बाहुण्डागीको परिचय नै बदल्ने विश्वास गरेको छु ।” पार्क भित्र २२ वटा हात्तीका टाउका बनाएर त्यसबाट पानीको फोहोरा निकालिएको छ । उनले भने– “यो हात्तीका सुढबाट निस्किएको पानीमा नुहाउँदा पुण्य प्राप्ती हुने विश्वस गरिन्छ । यसलाई गणेश स्नान नाम दिएका छौं ।” प्रकृति पार्कले बाहुण्डागीको मुहार फेर्ने र हात्ती प्रतिको आम दृष्टिकोणलाई समेत परिवर्तन गर्न मद्दत पुग्ने कार्की बताउँछन् ।

यसका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ठुलो सहयोग रहेको उनले बताएका छन् । कतिपय अवस्थामा विदेशी दातृनिकाय र संघसंस्थाहरुले पनि यस प्रकारका कार्यक्रममा सहयोग गर्ने गरेको उनले बताएका छन् । कार्कीको यो अभियानमा उनका वडाका जनप्रतिनिधि र स्थानीयवासीको भरपुर सहयोग रहेको छ । “पहिले पहिले अलिक अप्ठेरो थियो ।” वडा नम्बर ४ का वडा सदस्य पवन बराइलीले भने– “अचेल सबैले साथ र सहयोग गरिरहेका छन् ।” सबैको साथ र सहयोग अनि हौसलाबाट पार्क निर्माण भइरहेको उनले बताए । यसै वर्षको देशै तिर छेक पार्क सुरु हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here