“यो चुपचाप सल्टाउँदा ठिक हुने मामिला हो।”
सम्भाव्य पूर्व–पश्चिम कैदी बन्दी साटफेरबारे प्रतिक्रिया दिन अनुरोध गरिँदा रुसी अधिकारीहरूले यही वाक्यांशको प्रयोग गरेका थिए। हामीले महिनौँदेखि यिनै शब्दहरू सुन्दै आइरहेका थियौँ।
क्रेम्लिन यसरी नै काम गर्न रुचाउँछ। यसरी नै अहिले सञ्चारमाध्यमहरूबाट टाढा रहँदै पर्दापछाडि बसेर “बन्धक कूटनीति” गरियो। यसमा गुप्तचर निकायले गुप्तचर निकायसँगै कुरा गरे, सरकारले सरकारसँग कुरा गर्यो।
मस्कोले आफूले चाहेको कुरा वा व्यक्ति फिर्ता नपाउँदासम्म यो चलिराख्यो।
यद्यपि मौनताकै बीच पनि केही पाकिरहेको छ भन्ने सङ्केतहरू देखिएका थिए।
रुसी राष्ट्रपतिको त्यो अन्तर्वार्ता
गत फेब्रुअरीमा फक्स न्यूजका भूतपूर्व समाचार प्रस्तोता टकर कार्ल्सनसँगको अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इभन गोर्स्कभीचका विषयमा बोलेका थिए। उनी जासुसीको आरोपमा रुसमा गिरफ्तार गरिएका ‘वाल स्ट्रीट जर्नल’का पत्रकार हुन्।
“म गोर्स्कभीचको घर फर्कन सक्ने सम्भावनालाई नकार्दिनँ,” पुटिनले भनेका थिए।
“हामी हाम्रो गुप्तचर निकायले हासिल गर्न खोजेको उद्देश्यलाई कसरी सघाउन सकिन्छ भन्नेबारे अमेरिकी गुप्तचर निकायले विचार गरोस् भन्ने चाहन्छौँ।”
पुटिनको उक्त भनाइले मस्को सम्झौताका निम्ति खुला छ भन्नेबारे सार्वजनिक रूपमै स्पष्ट सङ्केत गरेको थियो।
यी क्रेम्लिनका नेताले कसैको नाम लिएका थिएनन्। तर उनले रुसले कसलाई फिर्ता चाहेको हो भन्ने स्पष्ट सङ्केत गरेका थिए। ती व्यक्ति थिए– भदीम क्रासिकफ। उनी अमेरिकामा नभई जर्मनीमा हत्याको मामिलामा आजीवन कारावासको सजाय भोगिरहेका शङ्कास्पद रुसी जासुस हुन्।
त्यसको केही दिनपछि रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको दुर्गम आर्क्टिक ‘पेनल कोलोनी’मा सजाय भोगिरहेको अवस्थामा मृत्यु भयो। यो घटनाअघि जर्मनीमा रहेका क्रासिकफको सट्टामा रुसी जेलमा रहेका नाभाल्नी, गोर्स्कभीच, पूर्वअमेरिकी नौसैनिक पल वेलनलाई साटफेर गर्न छलफल चलिरहेको गाइँगुइँ सुनिएको थियो।
कैदी बन्दी साटफेरबारे जर्मन अधिकारीहरूले पनि कुराकानी सुरु गरेका थिए?
मुद्दा प्रक्रिया
अब जुन महिनामा फर्कौँ।
अन्तत: यकाटेरिनवर्गमा सुरु भएको गोर्स्कभीचमाथिको गोप्य सुनुवाइलाई अमेरिकी सरकार र वाल स्ट्रीट जर्नलले “देखावटी” भन्दै खारेज गरे। त्यसपछि उक्त मुद्दालाई तत्काल मध्यअगस्टसम्मका लागि स्थगित गरियो।
तर गत महिना अदालतले अनपेक्षित रूपमा मुद्दालाई तीन साताभन्दा बढीले अघि सार्दै दोस्रो सुनुवाइ थाल्यो। तीव्र रूपमा तीनदिने सुनुवाइ टुङ्ग्याउँदै गोर्स्कभीचलाई दोषी ठहर्याइयो र सोह्र वर्षका लागि ‘पेनल कोलोनी’को सजाय सुनाइयो।
त्यसै दिन अमेरिकी–रुसी पत्रकार अल्सु कर्माशेभालाई कजानको एउटा अदालतले साढे छ वर्षको जेल सजाय सुनायो। उक्त मामिलामा केवल दुई दिन सुनुवाइ भएको थियो।
यसले कसैलाई असाध्यै हतार भइरहेको छ भन्ने स्पष्ट सङ्केत गर्थ्यो। साथै यसले सम्झौता भइसकेको छ र कैदीबन्दी साटफेरको सम्भावना छ भन्ने पनि बलियो सङ्केत गर्थ्यो। रुसी अधिकारीहरू सामान्यत: यस्तो साटफेरमा सजायलाई पूर्वसर्त मान्दछन्।
यो साताको आरम्भमा रुसका कैयौँ उच्च तहका राजनीतिक बन्दीहरूलाई ‘पेनल कोलोनी’ तथा बन्दी केन्द्रहरूबाट स्थानान्तरण गरिएको विवरणसँगै अन्य सङ्केतहरू पनि आए।
त्यसपछि अड्कलबाजी बढ्न थाल्यो। यी विरोधी नेताहरू पनि यो बृहत्तर कैदीबन्दी साटफेरको हिस्सा बन्न सक्छन्? के यो आदानप्रदान हामीले सोचेभन्दा ठूलो स्तरको छ?
यही बेला बेलारुसबाट खबर आयो : देशका नेता अलेक्जेन्डर लुकाशेन्को आतङ्कवाद तथा अन्य मुद्दाका निम्ति मृत्युदण्डको सजाय सुनाइएका रिको क्राइगर नामका जर्मन नागरिकलाई माफी दिन सहमत भए। के यो पनि साटफेरकै हिस्सा हुन सक्छ?
बल्ल हामीले थाहा पायौँ। यो शीतयुद्धयताकै पूर्व–पश्चिमबीचको सबैभन्दा ठूलो कैदीबन्दीको साटफेर हो।
पश्चिमा सरकारहरूले विदेशी तथा केही रुसी उच्चस्तरीय राजनीतिक बन्दीको रिहाइको स्वागत गर्ने छन्।
मस्कोले आफ्ना गुप्तचरहरूको रिहाइको उत्सव मनाउने छ।
दुवै पक्षले उत्तम सम्झौता गरिएको दाबी गर्ने छन्।
तर यदि रुसले पहिले पहिले गर्दै आएझैँ “बन्धक कूटनीति” प्रभावकारी हुने निष्कर्ष निकालेको खण्डमा चाहिँ विदेशी र रुसी दुवैथरिका कैदीबन्दीहरू सौदाबाजीको हतियार बनेको यो नै अन्तिम घटना नहुने सम्भावना छ।
-बीबीसीबाट