साउन १७, झापा ।। मानव शरीरको अत्यन्तै संवेदनशील अंग मध्ये आँखा एक महत्वपूर्ण अंग हो । दृष्टिबिना यो दुनिया अन्धकार हुन्छ । जीवन चुनौतिपूर्ण र कष्टकर बन्न सक्छ । यस्तो महत्वपूर्ण अंगको हेरचाह, स्यहार सुसार तथा सुरक्षा सम्बन्धि ज्ञानको अभावमा मानिसले आँखाको स्वास्थमा संकट व्यहोरिरहेका छन् । यीनै चुनौति र सम्भावनालाई ध्यानमा राखेर मिति २०६६ सालदेखि झापाको बिर्तामोडमा “बिर्तामोड आँखा अस्पताल” सञ्चालनमा आएको हो । यस अस्पतालले दैनिक ३०० जनासम्म आँखाका विभिन्न खाले समस्या लिएर आउने विरामीहरुलाई शुलभ शुल्कमा सेवा प्रदान गरिरहेको छ । यहि अस्पतालबाट नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमको सुविधा प्राप्त गर्न सकिन्छ । साथै साहारा नेपाल साकोस चारपानेका “जीवन वरदान” कार्यक्रममा सहभागी सदस्यहरुलाई समेत सुविधा उपलब्ध गराउदै आइरहेको छ ।
बिर्तामोड आई हस्पीटलले भारत, भुटान र बङ्गलादेशसम्मका सेवाग्राहीहरुलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । आँखासँग सम्बन्धित प्राय सबै विभाग र विशेषज्ञ उपलब्ध गराएको यस अस्पतालले सर्वशुलभ सेवा प्रदान गर्दै आइरहेको छ । यसै सन्दर्भमा अस्पतालका संस्थापक सञ्चालक तथा नेत्र अधिकृत बिनोद दाहालसँग आँखाको स्वास्थ्य अवस्था, चुनौति र उपचारका सम्भावनाहरुका बारेमा हामीले छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ नेत्र अधिकृत तथा सूचना अधिकारी बिनोद दाहलसँगको कुराकानी ।
१. अस्पतालमा सेवा लिन आउने सेवाग्राहीबाट प्राप्त अनुभवलाई हेर्दा हाम्रो आँखाको स्वास्थ्य अवस्था कस्तो पाइन्छ ?
– आँखाको स्वास्थ्यको पनि सिजन हुँदोरहेछ । सिजन अनुसारका समस्या हुने भएकाले यो महिना (असार,साउन) मध्यम नै मानिन्छ । यो मौसममा तुलनात्मक रुपमा विरामी कम आउने गर्छन् ।
तर, समग्र आँखाको स्वास्थ्य अवस्थाका बारेमा कुरा गर्ने हो भने यो दिनदिनै जटिल र चुनौतिपूर्ण बन्दै गइरहेको पाइन्छ । खास गरेर मासिनमा देखिने डाइबेटिज, प्रेसरका कारण आँखाले जटिल खाने समस्या व्यहोर्नु परेको छ । त्यसमा पनि मोबाइल जस्ता ग्याजेट्स र प्रविधिका कारण आँखालाई जोखिम बढ्दो छ । आँखाका आफ्नै खाले समस्याहरु भन्दा पनि यी समस्याहरुका कारण हाम्रो आँखाको स्वास्थ्य र सुरक्षा चुनौतिपूर्ण बन्दै गइरहको छ ।
२. आँखाका कस्ता कस्ता रोग र समस्याहरु बढीमात्रामा देखिएका छन् ?
– आँखाको समस्या मध्ये बढिमात्रामा देखिने भनेको दृष्टिदोष नै हो । यो भनेको कसैले नजिकको नदेख्ने, कसैले टाडाको नदेख्ने समस्या हो । प्राय मानिसमा यो समस्या देखिने गरेको छ । मात्रात्मक रुपमा भन्ने हो भने आँखामा देखिने समस्या नै दृष्टिदोष हो भने पनि हुन्छ ।
त्यसपछि आँखाको सुखापन, एलर्जी आदि आउछन् । त्यस पछि मोति विन्दु पनि समस्याका रुपमा देखिएको छ । दृष्टिदोष, सुखापन, एलर्जी जस्ता समस्याहरु औषधी या चस्मा प्रयोग गर्दा समाधान हुन्छन् । मोति विन्दुको उपचार चाहि अप्रेसन मार्फत नै गरिन्छ ।
डाइबेटिक र प्रेसरका कारण आँखामा पुग्ने क्षतिको मात्रा कम देखिए पनि यो दिनदिनै बढ्दो छ । यसबाट आँखामा समस्या उत्पन्न भयो भने त्यो अलिक जटिल प्रकारको हुने गरेको छ । यो समस्या विस्तारै मानव स्वास्थ्य र आँखाको स्वास्थ्यमा चुनौतिपूर्ण बन्दै गइरहेको छ ।
३. आँखाको समस्या बढी गरेर कुन उमेर समूहमा देखिने गरेको छ ?
– सामान्यतया ४० कटेपछि आँखाका समस्याहरु देखा पर्न थाल्छन् । भनिन्छ नि “४० ले छोएछ” भनेर । यसको मतलब नै ४० कटेपछि आँखाले संकेत गर्न थाल्यो भनेको हो । अब आँखाबाट समस्या सूरु भयो,अलिक होस् गर्नु है भनेको हो । यहि उमेरको आसपासमा मानिसलाई सुगर, प्रेसर जस्ता समस्याहरु पनि देखा पर्न थाल्छन् । यसले पनि आँखालाई जोखिममा पार्दै लान्छ । अधिकाँश रोग र शारिरीक समस्याहरु बुढेसकाल लागेसँगै देखिने हुन् । हुन त सानै उमेरमा पनि आँखासँग सम्बन्धित समस्याहरु हामीले देखेका, भोगेका छौं । कतिपय अवस्थामा जन्मजात पनि समस्या हुने गरेको छ । रोग लाग्न उमेर नै पुग्नु पर्छ भन्ने चाहि होइन । जुनसुकै उमेर समुहलाई पनि रोग लाग्न सक्छ ।
४. आँखाको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनु पर्ने कुरा कस्ता छन् ?
– मानव शरीरको अति संवेदनशील अंग हो आँखा । यसको स्वास्थ्य सुरक्षामा पनि संवेदनशील बन्नु पर्यो । आँखाका लागि आवश्यक पौष्टिक तत्वयुक्त खानेकुरा खानु पर्यो । चोटपटकबाट जोगाउनु पर्यो । धुँवाधुलो र प्रदुषणबाट सुरक्षित गर्नु पर्यो । आफु र आफ्ना बालवालिकाहरुले मोबाइल, कम्युटर जस्ता विद्युतीय सामग्रीहरु चलाउदा विशेष ध्यान दिनु पर्यो । आँखाको स्वास्थ्य शिक्षाका बारेमा जानकारी लिनु र दिनु पर्यो ।
५. आँखाका जोखिमहरु के के हुन् ? कसरी आँखालाई बाचाइ राख्न सकिन्छ ?
– आँखाका लागि मूख्य जोखिम भनेको बाहिरी बातावरणमा हुने प्रदुषण नै हो । बाहिरी अवस्थाबाट आँखालाई सुरक्षित गर्न सन् ग्लास, प्रोटेक्टेड ग्लास, विशेसज्ञको सिफारिसका चस्मा जस्ता सामग्रीहरुको प्रयोग गर्न सकिन्छ । निरन्तर आँखालाई सफा पानीले धुने गर्नु पर्दछ । विशेष गरेर शहरी जीवनमा प्रदुषणको मात्रा ज्यादा हुने हुँदा शहरमा बसोवास गर्ने मानिसले आँखाको सुरक्षामा बढि ध्यान दिनु पर्ने हुन्छ । हुन त गं्रामीण जीवनमा पनि विभिन्न खाने चुनौतिहरुको सामना गर्नु पर्ने हुन्छ । विशेष गरेर आँखाका लागि चाहिने पौष्टिक तत्वको अभावमा ग्रामीण भेकका मानिसहरु बढि प्रभावित भएको पाइएको छ । आँखामा चोटपटक लाग्नु र अन्य वाहिरी कारणले पनि समस्या हुने गरेका छन् ।
सूचना प्रविधिको विकासका कारण सामाजिक सञ्जालको प्रयोगले आँखालाई पनि सास्ती बढेको छ । यस्तो प्रयोग कम गर्नु पर्छ । अथवा सुरक्षित रुपमा गर्नु पर्छ । समय समयमा आँखाको परिक्षण गर्नु पर्यो । नानीहरुलाई विद्यालय जानु पूर्व नै आँखाको अवस्था परिक्षण गराउनु पर्दछ । यस्तो गर्दा यदि आँखामा कुनै समस्या देखियो भने तुरुन्त उपचारमा जान सकिन्छ र उसको पठाइमा नकरात्मक असर पर्नबाट जोगाउँन सकिन्छ । योसँगै अचेल समय नपुगि जन्मने शिशुमा आँखा सम्बन्धि समस्या देखिने गरेको छ । यो आँखाको नयाँ चुनौतिका रुपमा देखा परेको छ । हामीले त्यसका लागि अस्पतालमै बच्चा जन्मने बित्तिकै परिक्षण गराउँने विधि अपनाएका छौं । यो प्रभावकारी भएको पनि छ ।
आँखाको सुरक्षा र बचाउने मुख्य उपाय भनेकै समय समयमा अस्पतालसम्म पुगेर आँखा परीक्षण गराउनु नै हो । कहिले काहि अचानक आँखामा कसिंगर पर्ने, कुनै किरा पर्ने जस्ता घटना हुने गर्छन । यस्तो अवस्थामा आँखा हातले माढ्ने गर्नु हुन्न । तुरुन्तै नजिकैको आँखा अस्पताल जानु पर्दछ । सामान्य लापरवाहीका कारण पनि कहिले काहि आँखामा ठुलो नोक्सानी हुने गरेका छन् । यस्तो समस्या समाधान गर्न नेपाल सरकारलेले बीमा कार्यक्रम सञ्चालन गरेको छ । यसको भरपुर उपयोग गरेर आँखाको स्वास्थ्य रक्षा गर्न सकिन्छ ।
(दाहाल बिर्तामोड आँखा अस्पतालका सूचना अधिकारी समेत हुनुहुन्छ ।)