उठ्नेबित्तिकै प्रयोग गर्ने दन्तमञ्जन, ब्रस र साबुनजस्ता सामान नेपाली उत्पादन नै प्रयोग गर्न पाइयोस् । पहिलो खानेकुरा नेपाली माटोमा उब्जिएकै मुखमा परोस् । आज मेरो मनमा ठूलो अर्थ राख्ने तर यस्तै स–साना सपना मडारिरहेको छ ।
आज हाम्रो देशको पासपोर्ट विश्वकै आठ कमजोर पासपोर्टभित्र पर्छ । त्यसले मेरो मुटु नै चस्स हुन्छ । हामीले आफूलाई जनशक्ति निर्यात गरेर विप्रेषणबाट घर चलाउने देश बनायौं ।
आज मेरो मनमा देशको नाजुक तस्बिर फनफनी घुमिरहेको छ । २० प्रतिशतभन्दा बढी हाम्रा दिदीबहिनी, दाजुभाइ गरिबी, अभाव र भोकमरीको जिन्दगी बाँचिरहेका छन् । चलनचल्तीको शब्दमा निरपेक्ष गरिबीको रेखामुनि छन् । यति उर्वर धर्तीमा यस्ता मिहिनेती जनता यस्तो हालतमा हुनुजति दुःखदायी अरू के हुन सक्छ भन्ने अनुभूति भइरहेछ ।
एउटा बच्चा भोकले तड्पिरहेको छ । एउटी आमा आफ्नो मुटु–कलेजोभन्दा प्यारो सन्तानको भोक शान्त गराउन असमर्थ भएको हृदयविदारक पीडामा छिन् । उनी स्वयं भोकको तड्पनमा छिन् । सन्तानको मायाले उनको मुटु बटारिन्छ । उनी निरूपाय भएर आँसु खसाउन विवश छिन् । एक्काइसौं शताब्दीको मानव समाजका लागि योभन्दा दारुण दृश्य अरू के होला ?
यहाँनेर मैले एउटी आमा र बच्चाको प्रसंग प्रतीकात्मक रूपमा मात्रै उठाएको हुँ । यो फगत एकदुई जनाको होइन, ३ करोडमा ६० लाखभन्दा बढी जनताको साझा सरोकार हो । अर्थात्, प्रत्येक ५ जनामध्ये १ जनाको समस्या हो । तपाईंको उब्जनीले कति महिना खान पुग्छ भनेर सोध्दा कोही २ महिना भन्छन्, कोही ३ महिना । बाँकी महिना तिनले कसरी जीवन धान्लान् ? न रोजगारी छ, न त अन्य कुनै आम्दानी । सम्झँदै अत्यास लाग्छ । यो हो युगौंदेखि अहिलेसम्म समाधान हुन नसकेको समस्या । यो निरपेक्ष गरिबी चाँडोभन्दा चाँडो कसरी हटाउने ? मेरो मनमा आज यही छ ।
आज मेरो मन सडक बालबालिकामा छ । निकट भविष्यमा वैज्ञानिक र अन्तरिक्षका ग्रह, नक्षत्र चहार्ने, त्यसको दूरी र तौल नाप्ने प्रतिभा आज सडकमा यत्रतत्र पोखिएका छन्, छरिएका छन् । यसले हाम्रो जिम्मेवारीबोधलाई गिज्याएको छ । भविष्यमा मानव जातिको सेवाका लागि हरदम हाजिर हुन सक्ने चिउला नै पलाउन पाएन । तिनले हाँगै हाल्न पाएनन् । तिनले बढ्नै पाएनन् । सुक्खा, खडेरी, हावा हुन्डरी र ठन्डीमा कठ्यांग्रिएर तिनले आफ्नो प्रतिभा केमा थियो, ती के हुन्थे, बाटो लिनै पाएनन् । आज मेरो मनमा यस्ता भाव र गुम्फनहरू आइरहेका छन् ।
आज पनि लगभग १४ प्रतिशत बालबालिकाले विद्यालयको मुखै देख्न पाउँदैनन् । विद्यालयमा भर्ना भएका बालबालिका पनि नियमित हुन्नन् । भविष्यका ती महान् प्रतिभा विविध प्रकारका कठिनाइसँग जुधिरहेका छन् । कलिलो बाल्यावस्थामै अमानवीयताका कठोर प्रहार झेलिरहेका छन् । सहर–बजार होस् वा गाउँघर, सुगम होस् वा दुर्गम, जुनसुकै भूगोलमा जन्मिनु कुनै अपराध होइन । बालबालिका किन भोकै पर्ने ? कुपोषणको सिकार किन हुने ? भोकै किन मर्ने ? यस अवस्थाबाट ती निर्दोष बालबालिकालाई कसरी बाहिर निकाल्ने ? यिनै स्कुल जान नपाएका, पढ्न नपाएका, जाडोमा न्यानो नाना लगाउन नपाएका, बर्खामा ओत लाग्ने छानो नभएका अनि भोक लागेका बेला खान नपाएका बालबालिका र जनता नै मेरो सबभन्दा प्रमुख सरोकार र चिन्ताका विषय हुन् ।
एउटा निर्दोष बच्चा भोकले तड्पिएर मरिरहँदा हामी समृद्धिको गफ हाँकिरहेका हुन्छौं । आफ्नो सम्पत्ति वा आम्दानीको हिसाबकिताब गरिरहेका हुन्छौं । यस्तो स्थितिमा अरू विकासको कति अर्थ हुन्छ ? बाटोघाटो राम्रो बन्ला, गरिबी २० बाट २५ प्रतिशत पुग्यो भने ? राम्रा एयरपोर्ट बन्लान्, गरिबी ३० प्रतिशत पुग्यो भने ? विकासको गति अझै अघि बढ्ला, गरिबी ४० प्रतिशत पुग्यो भने ? वास्तविक पश्चगमन भनेको यही हो ।
अघिल्लो पटक म प्रधानमन्त्री हुँदा निरपेक्ष गरिबीलाई २१.६ प्रतिशतबाट १८.७ प्रतिशतमा झारिएको थियो । त्यसको ३ वर्षपछि २०.२६ प्रतिशत पुग्यो । यो कहालीलाग्दो स्थिति हो । ‘समृद्धि’ हासिल हुँदैमा, व्यक्तिगत आय बढ्दैमा अथवा देशको कुल गार्हस्थ्य उत्पादन बढ्दैमा सिंगो देशको गरिबी हट्दो रहेनछ भन्ने तथ्य त हामीले विभिन्न देशमा देखेकै छौं । समृद्धि र खुसीको समुचित वितरण भएन भने समाजको एक हिस्सा त जहाँको तहीँ रहने रहेछ । यो न्याय भएन । न्यायोचित समाज कसरी सिर्जना गर्ने ?
म नेपाललाई एउटा सुशिक्षित, दक्ष, स्वस्थ, निरोगी र सक्षम नागरिकको देश बनाउन चाहन्छु । त्यस्तो देश बनाउन चाहन्छु, जो विकसित होस्, आधुनिक होस्, न्यायपूर्ण होस् । ती सरकारहरूको कदम अनुकरणीय छ, जसले गरिबी हटाएका छन् र गरिबीले सिर्जना गर्ने बीभत्स दृश्य आफ्नो देशबाट अन्त्य गरेका छन् । आज मेरो मनमा यही कुरा चलिरहेको छ ।
शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरू पनि यसै देशका सन्तान हुन् । उनीहरूलाई आफ्नो अवस्थाअनुसार सुरक्षित, स्वतन्त्र र देशको सम्मानित नागरिक भएर सकेसम्म आरामको जिन्दगी बाँच्न पाउने हक छ । उनीहरूले आफ्नो हुनर, विधा, रुचि र क्षमताअनुसार प्रगति गर्न पाउनुपर्छ । प्रतिस्पर्धामा सबै बराबरका हुन्छन् भन्ने हुँदैन । कोही अगाडि पर्छ, कोही पछाडि । तर दौडने अवसर सबैले पाउनुपर्छ । दौडन सक्ने हैसियत सबैको बन्नुपर्छ । समाजको प्रबन्ध यस्तो हुनु हुँदैन, जसले निष्ठुर र निर्दयी भएर एउटा मानिसलाई भोकै तड्पाएर भिखमङ्गा बनाउँछ । फेरि अर्कोतिर टोकरीमा सुका–मोहर राखेर दया पनि देखाइरहन्छ । यो दृश्य सधैंका लागि पटाक्षेप हुनुपर्छ । आज मेरो मनमा यही छ ।
हरेक दिन सयौं युवाले देश छाडिरहेका छन् । उनीहरू घरपरिवार, आफन्तजन छाडेर किन बाहिर जान मरिहत्ते गरिरहेका छन् ? युवाहरूका लागि आमाबुबा, परिवार, नातागोता, इष्टमित्र, साथीसंगीको मायाभन्दा विदेश जानु किन मूल्यवान् भइरहेको छ ? यो परिस्थिति वा मनोविज्ञान कसरी तयार भयो ? आफ्नो घर, परिवार, आफन्तसँग प्रेमपूर्वक रमाएर आफ्नै देशमा आफ्नै व्यवसाय चलाएर उन्नति–प्रगति गर्ने कुरामा उनीहरू किन आश्वस्त हुन सकिरहेका छैनन् ? आज मेरो मनमा यही छ ।
आज हाम्रो देशको पासपोर्ट विश्वकै आठ कमजोर पासपोर्टभित्र पर्छ । त्यसले मेरो मुटु नै चस्स हुन्छ । हामीले आफूलाई जनशक्ति निर्यात गरेर विप्रेषणबाट घर चलाउने देश बनायौं । आज विदेशी प्रतिनिधि भेट्दा हाम्रा मान्छे कामका लागि लगिदेऊ न भनेर गिडगिडाउनुपर्ने अवस्था छ । हामी भेडाबाख्रा, कुखुरा, घोडा, गधा निर्यात गरिरहेका छैनौं । बरु हाम्रा भाइबहिनी, छोराछोरीलाई पासपोर्ट दिएर, जहाज चढाएर बाहिर पठाइरहेका छौं । आज मेरो मनमा यही पीडा छ ।
देशभित्र जसले काम गरिरहेको छ, ऊ पनि खुसी छैन । उसले पाउने पारिश्रमिक जीवन धान्न पर्याप्त छैन । बजारमा महँगी छ । एक छाक सागसब्जी किनेर ल्याउँदा हजार रुपैयाँ सकिएको हुन्छ । छोराछोरीको फी तिर्नुपर्यो । लत्ताकपडा किन्नुपर्यो । जीवन चलाउन सजिलो छैन । त्यसैकारण समाज थितिका, विधानका बन्धन तोडेर विपरीत बाटोतिर जान खोज्छ । आज मेरो मनमा यही छ ।
आज हामी कृषिको आधुनिकीकरण भनिरहेका छौं, उद्योगको स्थापना र सञ्चालन गर्ने भनिरहेका छौं, पर्यटनको विकास भनिरहेका छौं । कतिपय पूर्वाधार विकासका प्रयाससमेत अगाडि बढाइरहेका छौं । तर जसरी गर्नुपर्ने हो, त्यसरी गर्न सकिरहेका छैनौं । फलफूल ढिलोमा पनि ५ वर्षभित्र फल्छ । कतिपय फलफूल त एकै वर्षमा फल्छ । सब्जी लगाउन थाल्ने हो भने ३ महिनामा फल्छ । फूल २ महिनामा फुल्छ । फूलैफूलको देश बनाउन सकिँदैन र यो देशलाई ? तर हामी किन टनका टन फूल आयात गरिरहेका छौं । किन फुल्दैन हाम्रो देशमा फूल ? बिहान उठेदेखि बेलुकी नसुतेसम्म हामी आयातित सामग्री प्रयोग गरिरहेका छौं । सामान्यभन्दा सामान्य कुरामा पनि हामी आत्मनिर्भर छैनौं ।
कम्तीमा बिहान उठ्नेबित्तिकै प्रयोग गर्ने दन्तमञ्जन, ब्रस र साबुनजस्ता सामान नेपाली उत्पादन नै प्रयोग गर्न पाइयोस् । पहिलो खानेकुरा नेपाली माटोमा उब्जिएकै मुखमा परोस् । सुत्नुभन्दा अगाडि प्रयोग गर्ने सामान नेपाली होस् । आज मेरो मनमा ठूलो अर्थ राख्ने तर यस्तै स–साना सपना मडारिरहेको छ ।
म पटकपटक भनिरहन्छु– यस पावन धरतीमा ज्ञानको सभ्यता थालनीकर्ता हाम्रै पुर्खा थिए । तिनको जेनेटिक मेमोरी हामीसँग छ । हामी महान् आविष्कारक ऋषिमुनिका सन्तान हौं । महान् अध्येता, खोज, अन्वेषणकर्ताका सन्तान हौं । विद्वान्हरू, कविहरू, महाकविहरूका सन्तान हौं । नेपाल मात्रै त्यस्तो एकल देश हो, जहाँका गाउँगाउँमा, घरघरमा, रोधीघरमा, रनवनमा, पानीपँधेरोमा, मेलापर्ममा, खेतबारीमा, घाँसदाउरा गर्ने पाखापखेरीमा प्रशस्त आशुकविहरू छन् । यति हुँदाहुँदै पनि आज हामीले आफ्नै पुर्खा र देशका बारेमा गौरव गर्न नसक्ने दुःखदायी स्थिति कसरी बन्यो ? तपाईंको नागरिकता भनेर सोध्दा अलिकति उँचो स्वरमा म नेपाली हुँ भनेर गर्वसाथ भन्न पाइयोस् न । आज मेरो मनमा यही छ ।
आज अभावग्रस्त समाज छ । त्यसले असन्तुष्टि प्रकट गराउँछ । मुलुकको राजनीति बिग्रियो भने एकदुई चुनावमा सपार्न सकिएला । अर्थतन्त्र बिग्रियो भने एकाध पञ्चवर्षीय योजना सञ्चालन गर्दा सच्याउन सकिएला । सामाजिक थिति भत्कियो वा भाँडियो भने के होला ? समाज भनेको एउटा थिति हो, एउटा विधि हो । मानव जातिको समग्र व्यवस्थापन हो । एउटा स्थापित मूल्य मान्यता हो । त्यो बिथोलियो र कुसंस्कृति वा विकृतितिर उन्मुख हुँदै गयो भने त्यसलाई सच्याउन हामीलाई सयौं वर्ष लाग्न सक्छ । यस कुराप्रति आज गम्भीर हुने परिस्थिति आएको म देख्छु ।
हामी सबै मिलेर अब नेपाली जनतामा रहेको दुःखकष्ट समाधान गर्नु छ । त्यसपछि उनीहरूलाई विकासका प्रतिफल र विज्ञान प्रविधिले दिएका सुविधा उपलब्ध गराउनु छ । उनीहरूलाई विद्वान् र स्वस्थ नागरिकका रूपमा विश्वमा प्रतिष्ठित गराउनु छ । यी सारा समस्याका छाल छिचोल्दै यो महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पार लगाउने आत्मविश्वास मसँग छ । म हाम्रा दिदीबहिनी, दाजुभाइमा पनि यही राष्ट्रिय आत्मविश्वास रहोस् भन्ने चाहन्छु । यो यात्रा त्यति सजिलो त छैन । तर, पहराका बीचबाट गाडी गुडाउनु छ भने पहिले त भीरहरू फोर्नैपर्छ । सुविधाको संसारमा त कठोर मिहिनेतबाट मात्रै पुगिन्छ । मेरो ध्यान त्यसैमा छ । त्यसका लागि काम गर्ने मेरो दृढ संकल्प छ ।
दुनियाँमा हामी बहादुर भनेर त चिनिएका छौं । तर हामी साँच्चै बहादुर हौं कि कवि भूपी शेरचनले भनेझैं बुद्धु हौं ? मैले अस्ति भर्खरै ‘गोर्खा वारियर’ भन्ने एउटा कलात्मक फिल्म हेरेको थिएँ । त्यसमा वास्तविक बहादुरी हदसम्मकै छ । कास, त्यो बहादुरी आफ्नै देशको लागि हुन्थ्यो भने !
हामी मिहिनेती छौं । परिश्रमी छौं । हाम्रै मिहिनेत र पसिनाले कैयौं देशले विकास गरेका छन् । हाम्रै मिहिनेतमा अरू देशका कृषि फस्टाएका छन् । कास, त्यो मिहिनेत र पसिना आफ्नै देशमा घोप्टिन र पोखिन पाएको भए तर हाम्रा त खेतबारी बाँझै छन् । हाम्रा निर्माणकार्य अधुरा छन्, अपूरा छन् । कति थालिएकै छैनन् । अरू देशले आतिथ्य र शिष्टताबाट समेत आफ्नो परिचय बनाएका छन् । वसुधैव कुटुम्बकम्को सभ्यता र संस्कृतिमा हुर्किएको यो देश, सर्वे भवन्तु सुखिनःको मन्त्र जप्ने यो देश, कता ओरालो लागेको ! आज मेरो मनमा यिनै प्रश्नको समाधानको खोजी भइरहेको छ ।
अनुभूतिहरूलाई अनुभवमा, अनुभवहरूलाई ज्ञानमा परिणत गर्ने र फैलाउने यो भूमि आज किन यस्तो अन्योलमा परिरहेछ ? यसबाट देशलाई कसरी मुक्त गराउने ? तमसो मा ज्योतिर्गमय, असतो मा सद्गमय । हामी सचेत हौं । सिंगो राष्ट्र एकताबद्ध भई सही बाटोमा संकल्प र दृढताका साथ अघि बढौं ।
आखिर समृद्ध नेपाल, सुखी नेपाली त बनाउनु नै छ ।
–कान्तिपुरबाट