गत साता भारतको उत्तर प्रदेशमा एउटा हिन्दू धार्मिक भेलामा भागदौड मच्चिँदा कम्तीमा १२० जनाको ज्यान गयो।
यस्ता दुःखद घटनाले समाजमा नराम्रो असर गर्छ। तर ठूल्ठूला धार्मिक भेलाहरूमा यस्ता घटना हुँदै आएका छन्।
साउदी अरबको मक्कामा हुने मुस्लिमहरूको वार्षिक तीर्थयात्रा हजका क्रममा कैयौँ पटक भागदौड मच्चिएको छ। सन् २०१५ मा त्यहाँ २,३०० जनाको ज्यान गएको थियो।
खेलकुदका ठूला कार्यक्रम र साङ्गीतिक महोत्सवसहित धेरै सङ्ख्यामा मानिसहरू भेला हुने कार्यक्रममा भागदौड हुने जोखिम हुन्छ।
ठूलो भिडमा एक व्यापारीले मानिसहरूलाई रकम बाँड्न थालेपछि नाइजिरियामा गत मार्चमा एउटा परोपकारी कार्यक्रमका क्रममा तीन बालिकासहित सात जनाको ज्यान गएको थियो।
यहाँ हामीले भिडभाड उत्पन्न हुने कारण, मृत्युका कारक तत्त्व र त्यस्ता विपद्लाई रोक्ने उपायबारे चर्चा गरेका छौँ।
के कारणले भागदौड हुन्छ?
हजका बेला मक्कास्थित काबानजिकै व्यापक भिड हुने गर्छ।
“यस्ता बेला एउटै ठाउँमा एकै समय धेरै मानिस उपस्थित हुन्छन्,” इङ्ग्ल्यान्डको यूनिभर्सिटी अफ ससिक्समा प्राध्यापन गर्ने तथा भिड व्यवस्थापनको सामाजिक मनोविज्ञानका विज्ञ जोन ड्रूरी भन्छन्।
उपस्थित मानिसको कुल सङ्ख्याले नभई “भिडको घनत्व”का कारण भागदौड हुने अवस्था सिर्जना गर्छ।
प्राध्यापक ड्रूरीका अनुसार खतराबाट जोगिन एक वर्गमिटर क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस भेला हुनु हुँदैन। तर हजका बेला काबानजिकै प्रतिवर्गमिटर झन्डै आठदेखि नौ जना हुने गर्छन्।
ठाउँको क्षमतानुसार मानिस जम्मा नभएको अवस्थामा पनि कार्यक्रमको स्थानानुसार भिडको घनत्व फरक हुन सक्छ।
उदाहरणका लागि, साङ्गीतिक कार्यक्रमहरूमा मानिसहरू मञ्चतर्फ बढ्न चाहन्छन्।
आयोजकले कार्यक्रमको सही व्यवस्थापन नगर्दा अथवा प्रहरीले पनि नियमन नगर्दा धेरै भिडभाड हुन पुग्छ।
“यदि प्रतिवर्गमिटर क्षेत्रमा पाँच अथवा सोभन्दा बढी मानिस छन् भने मानिसहरू यताउता गर्दा भागदौडको खतरा रहन्छ,” प्राध्यापक ड्रूरी भन्छन्।
भागदौड केही मिनेटभित्र हुने हुँदा हस्तक्षेपका लागि न्यून समय हुन्छ। यो पृष्ठभूमिमा बाहिरिने ढोका थोरै मात्र भए अथवा निस्किने पाउने मार्ग स्पष्ट नभएको अवस्थामा भिड अकस्मात् निस्किन खोज्दा भागदौड मच्चिने खतरा रहन्छ।
“यदि बाहिर जाने मार्ग एकदमै साँघुरो छ, खास गरी बाहिरिने चिरपरिचित मार्ग छैन भने मानिसहरू एकैपटक निस्किने खोज्ने सम्भावना बढी रहन्छ। त्यसले घनत्व बढाउन सक्छ र भागदौड निम्त्याउन सक्छ,” उनी थप्छन्।
भिडमा किन जोखिम हुन्छ?
भिडमा मानिसहरू एकअर्कासँग ठोक्किन्छन् र बाँकी मानिसमाथि दबाव पर्छ। त्यस क्रममा केहीले आफ्नो शरीरलाई सन्तुलनमा राख्न सक्दैनन् र उनीहरूलाई अरूले कुल्चिन पुग्छन्। त्यस्तो घटना घातक बन्न सक्छ।
भारतमा केही दिनअघि भएको भागदौडको घटनापछि गरिएको शवपरीक्षणमा मृतकमध्ये धेरैको छातीमा चोट भएको देखियो। केहीलाई आन्तरिक रक्तस्राव भएको अनि केहीको छातीनजिकै रगत जमेको पाइयो।
सिङ्गापुरमा रहेका आकस्मिक चिकित्सा विशेषज्ञ डा डेभिन टानका अनुसार भिडमा थिचिएका मानिसलाई प्रायः सास फेर्न गाह्रो हुन सक्छ। अर्थात् बाह्य दबावका कारण उनीहरू सास फेर्न सक्दैनन्।
“श्वासप्रश्वासका लागि जिम्मेवार छाती र पेटको बीचमा अवस्थित ‘डाइअफ्र्याम’ मांसपेशी खुम्चिन वा तन्किन सक्दैन र त्यसले गर्दा फोक्सोमा हावा पस्न वा त्यहाँबाट निस्किन पाउँदैन,” टान भन्छन्।
“यसले गर्दा कार्बन डाइअक्साइड जम्मा हुन्छ र अक्सिजनको अभाव हुन्छ। अनि अङ्गहरूले काम गर्न छाडेपछि ‘ब्रेन डेथ’ हुन्छ।”
भागदौडमा कसरी जोगिने?
अमेरिकी सरकारको रोग नियन्त्रण तथा रोकथाम निकाय (सीडीसी)ले भागदौडमा कसरी जोगिने र त्यस्तो अवस्थामा के गर्ने भन्नेबारे केही व्यावहारिक सुझाव दिएको छ।
उसका अनुसार पहिलो काम भनेको उक्त स्थानमा पुग्ने बेलामै त्यहाँबाट बाहिरिने आकस्मिक द्वारहरू पहिचान गर्नु हो। साथै उपलब्ध चिकित्सकीय सेवाबारे पनि अगाडि नै थाहा पाउनुपर्छ।
यदि तपाईँ भागदौडमा पर्नुभयो भने तपाईँले यसो गर्नुपर्छ :
- बक्सिङ खेलाडीले झैँ छातीअगाडि हात राख्नुहोस् र दह्रोसँग खुट्टा टेक्नुहोस्
- भिडको बललाई प्रतिरोध नगर्नुहोस्
- भिडको गति रोकिँदा छड्के दिशातिरबाट छेउतिर जानुहोस्
- दह्रोसँग खुट्टा टेक्नुहोस्
- यदि लड्नुभयो भने भकुन्डो जसरी ‘डल्लो परेर’ आफूलाई जोगाउनुहोस्
- शान्त रहने प्रयास गर्नुहोस् र सकेसम्म छिटो उठ्नुहोस्
सुरक्षाका उपायहरू
धेरै भिडभाड हुन नदिन कार्यक्रम आयोजकहरूले भिड बढ्ने सम्भावनाको निरन्तर अनुगमन गर्नुपर्छ।
“प्रत्येक ठाउँमा कति मान्छे अट्छन् भन्ने तोकिएको हुन्छ। त्यसैले तपाईँले त्यो ठाउँमा आएका मान्छे गन्नका लागि कोही मान्छे वा कुनै प्रणाली परिचालन गर्नुपर्छ,” प्राध्यापक ड्रूरी भन्छन्।
उनका अनुसार कार्यक्रमको उद्देश्यबारे बुझ्नु पनि जरुरी छ। हजजस्ता कार्यक्रममा कुनै न कुनै बेला एकैठाउँमा जम्मा हुन चाहने मानिसहरूको सङ्ख्या धेरै हुन्छ।
“अर्थात् तपाईँले त्यस्ता कार्यक्रममा आउन सक्ने मानिसको व्यवस्थापनका लागि समयतालिका बनाउनुपर्छ,” उनी भन्छन्।
“भिड व्यवस्थापन गर्न त्यहाँ किन भिड जम्मा हुन चाहन्छ, भिडका मूल्यमान्यता के हुन् र उनीहरू के चाहन्छन् भन्ने बुझ्नुपर्छ।”
ड्रूरीका अनुसार भिडमा भएका मानिसहरूलाई भागदौडको दोष दिन मिल्दैन।
- स्वामीनाथन नटराजन
- बीबीसी विश्व सेवा