प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै


२९ असार २०८१, शुक्रबार ०७:४२ मा प्रकाशित

असार २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।

Advertisement

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।

विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने छन् र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने छ । कांग्रेस, एमाले लगायत दलले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेका छन् ।

प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेस, एमाले लगायत दलले ह्वीप जारी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछिल्लोपटक ११ पुस २०७९ मा प्रधानमन्त्री बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here