सिटौलाद्वारा लिखित ‘अनभुव र अनुभूति’ लोकार्पण


१७ असार २०८१, आईतवार ११:५७ मा प्रकाशित

मेचीनगर । लेखक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक दोस्रो कृति शनिवार लोकार्पण गरिएको छ ।

Advertisement

काँकरभिट्टामा आयोजित समारोहका प्रमुख अतिथि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, साहित्यकार भीम खवास लगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।

लोकार्पणपछि प्रमुख अतिथि उप्रेतीले लेखकबाट पुस्तकमार्फत आफ्नो जीवन भोगाई पस्किँदै समाजको यथार्थता उजागर गर्ने प्रयास भएको बताए ।

“हाम्रो परिवेश बुझ्न पुस्तक पठनीय छ, पुस्तकले हाम्रै समाजको अवस्था चित्रण गरेको छ” साहित्य सर्जकसमेत रहेका उनले भने, “यो पुस्तक पढेपछि अहिलेको पुस्तालाई हामी कुन परिवेशबाट कहाँ आइपुगेछौँ भन्ने बुझ्न सहयोग पुग्छ ।”

पठन संस्कृतिको विकासले अझै गति लिन नसक्दा लेख्ने कि नलेख्ने, किन र के–का लागि लेख्ने भन्ने दोधारमा पर्नुपर्ने स्थिति रहेको लेखक उप्रेतीको भनाई छ ।

त्यस्तै, विशिष्ट अतिथि खरेलले मानिसको अनुभवबाट इतिहास थाहा पाइने बताए । “पुस्तकले केही सिकाउने र चिनाउने काम गरेको छ”, उनले थपे, “पुस्तक सरल छ, उत्कृष्ट छ ।”

समारोहमा साहित्यकार खवास, मेचीनगर–६ का वडासदस्य ध्रुव राई, सिटौला समाज झापाका अध्यक्ष प्रेमप्रकाश सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरुले लेखकले जीवन यात्राका क्रममा संगालेका अनुभव पुस्तकका माध्यमबाट पाठकसमक्ष आएको बताउँदै सबैका लागि एउटा सुन्दर उपहार भएको प्रतिक्रिया व्यक्त गरे ।

उक्त पुस्तकको समीक्षा गर्दै पत्रकार मोहन काजीले लेखकले पुस्तकमार्फत वास्तविकतालाई नलुकाइ जस्ताको तस्तै पस्किने काम गरेको बताए ।

‘पुस्तकमा ढाकछोप, लिपपोत, छलकपट केही छैन, कुरा सिधै आएको छ, विषय काल्पनिक छैनन्, यर्थाथपरक छन्’, समीक्षक काजीले भने ।

यात्रासँग जोडिएको उक्त कृति छोटो, सरल, सहजै पढ्न सकिने रहेको भन्दै उनले पुस्तक पढिरहँदा आफूलाई कतै यात्रा संस्मरण, कतै यात्रा संस्मरणात्मक निबन्ध झैँ आभास भएको बताए ।

पुस्तकमाथि चर्चा गर्दै पत्रकार सन्तोष आचार्यले पनि पुस्तकले बेला–बेला यात्रा संस्मरण, कुनै बेला घटना र प्रवृत्ति मात्र भन्ने पात्र चाहिँ भन्दै नभन्ने कथा शैलीको कृतिम महसूस हुने बताए ।

“पुस्तकमा द्धन्द्धात्मक भौतिकवादी चेतना प्रकट भएको छ, ज्येष्ठ नागरिकको मनोविज्ञान व्यक्त गरिएको छ” उनले भने, “ज्येष्ठ नागरिकको मनोविज्ञानलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा पनि गरिएको छ ।”

सो अवसरमा लेखक सिटौलाले जीवन यात्राका क्रममा आफूले देखे–भोगेका घटना र महसूस गरिएका कुरालाई जस्ताको तस्तै पुस्तकमा पस्किएको बताए ।

“म ढाँट्न जान्दिनँ, जे देखें त्यही लेखें”, उनले थपे, “आफ्नै भोगाइलाई पुस्तकमा उतारेको हुँ ।” देश दर्शन गर्न चाहनेका लागि पुस्तक उपयोगी हुने लेखक सिटौलाको भनाई छ ।

कार्यक्रममा साहित्यकार कल्पना ओली (सिटौला), काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, एनएमसी अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायतको आतिथ्यता थियो ।

पुस्तक प्रकाशक लक्षिमा सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा शाब्दिक स्वागत ऋद्धिप्रकाश सिटौला र सञ्चालन पत्रकार गोपाल काफ्लेले गरेका थिए ।

यसअघि ‘मेरो कथाका पानाहरु’ नामक कृति प्रकाशन गरेका लेखक सिटौलाको दोस्रो कृति ‘अनुभव र अनुभूति’ को भाषा सम्पादन पत्रकार गोपाल काफ्लेले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here