काठमाडौं । असार १५ अर्थात राष्ट्रिय रोपाई महोत्सव एवं धान दिवस । असारलाई नेपालीहरुले ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रुपमा लिने गर्दछन् । २०६१ सालदेखि नेपालले असार १५ गतेलाई राष्ट्रिय रोपाई महोत्सव एवं धान दिवसको रुपमा मनाउन थालेको हो ।
हरेक महिना कुनै न कुनै चाडपर्व वा साँस्कृतिक गतिविधि भईरहने नेपालमा असार १५ को पनि विशेष साँस्कृतिक महत्व छ । कृषि प्रधान देश नेपालमा असार महिना आफैंमा खेतीबाली लगाउने समय हो । यो महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा लिने गरिन्छ । त्यसैले असार १५ नेपाली किसानहरुसंग प्रत्यक्ष जोडिएको पर्व हो । यसैलाई ध्यानमा राख्दै सरकारी स्तरमै हरेक वर्ष असार १५ गते रोपाई महोत्सव एवं धान दिवस मनाउने गरिएको हो ।
यस दिन किसानहरु मात्रै होइन, कहिल्यै हिलोमा नजानेहरु पनि हिलो खेल्न हौसिने गर्दछन् । असारे भाकासंगै एकआपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गरी रोपाई गर्ने दिन पनि हो असार १५ । पहिले पहिले असारे भाकामा बाजा बजाएर नाचगान गर्दै, हिलो खेल्दै रोपाइँ गर्ने चलन थियो । यस दिन नेपालीहरु विशेष रुपमा दही चिउरा खाने गर्दछन् । दहिचिउराले शरिरलाई शितल बनाउने जनविश्वास पनि रहेको छ । यस दिन रोपाई गर्नेहरुलाई पनि दही चिउराकै खाजा दिने चलन छ । तर धुमधामसंग रोपाई गर्ने चलन आज भोलि पातलिंदै गएको छ । आधुनिकताको नाममा यो साँस्कृतिक विरासत नै हराउँने त होइन भन्ने आशंका पनि गर्न थालिएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो भने हरेक वर्ष ५० लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गरेको छ । तर पछिल्ला वर्षहरुमा युवा जनशक्तिको अभावमा धान उत्पादन हुने उर्वर खेतहरु बाँझै बस्ने समस्या बढिरहेको छ । अर्कोतर्फ खेतीयोग्य जमिनमा सवैतिर सिंचाई सुविधा पुग्न सकेको छैन भने जनशक्ति अभाव भोगिरहेका कृषक वर्गले मल विऊमा समेत आवश्यकता अनुसारको सहुलियत पाउन सकेका छैनन । त्यसैले धान उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने योजना गफमै सीमित भईरकेको छ । त्यसमाथि जलवायु परिवर्तनको असर अन्य बालीहरुका साथै धान बालीमा पनि परिरहेको छ । सायद त्यही भएर होला नेपाल सरकारले यस वर्ष “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारा राष्ट्रिय धान दिवस एवं रोपाई महोत्सवका लागि तय गरेको छ ।
कृषि मन्त्रालय अन्तर्गतको कृषि विभागले प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा चितवनमा असार १५ गते विशेष कार्यक्रम आयोजना गरेको छ । तर यस्ता कार्यक्रमहरु फगत औपचारिकतामा सीमित हुँदा केही दशक अघिसम्म धान चामल निर्यात गर्ने देश अहिले अर्बाैंको चामल विदेशबाट आयात नगरी पेट नभरिने अवस्थाबाट गुज्रिएको छ । त्यसको पहिलो कारण राज्यको नीतिहीन अवस्था नै हो भन्दा फरक पर्दैन ।