हात्तीपाइले रोग विरुद्दको औषधी खुवाउने अभियान सुरु, बिर्तामोड नगर प्रमुखद्वारा औषधी खाएर शुभारम्भ


१२ असार २०८१, मंगलवार १३:०३ मा प्रकाशित

बिर्तामोड, १६ बैशाख : बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्दको औषधी खुवाउने अभियान सुरु भएको छ ।नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी खाएर अभियानको शुभारम्भ गर्नु भयो ।

Advertisement

संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरवासी सबैलाई औषधी अनिवार्य सेवन गर्न आग्रह गर्नु भयो । उहाँले घर घरमा आउने स्वास्थ्य कर्मी वा पायक पर्ने केन्द्रमा पुगेर औषधी सेवन गर्न र यसबाट हुने संक्रमणबाट बच्न सबैलाई आव्हानसमेत गर्नुभयो ।

कार्यक्रममा उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य लगायत विभिन्न शाखाका कर्मचारीहरुले औषधी सेवन गरेका छन् ।

बिर्तामोडमा औषधी खुवाउने अभियानका लागि स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयंसेविका गरि १ सय ३० जना परिचालन गरिएको छ । उनीहरुले घर घरमा पुगेर औषधी ख्वाउनेछन् । यसैगरी बिर्तामोडका ८ वटा अस्पतालहरुमा पनि केन्द्र राखिएको छ । जसमा बिर्तामोड नगरअस्पताल, विएण्डसी अस्पताल, मनमोहन अस्पताल, कनकाई अस्पताल, विर्तासिटी अस्पताल, बिर्तामोड नगर अस्पताल, मेची आँखा अस्पताल र दृष्टी आँखा अस्पताल रहेका छन् ।

यसैगरी इलाम वस स्टेण्ड ( केयर फास्ट फार्मेसी अगाडि), शनिस्चरे वस स्टेण्ड, पश्चिम वस स्टेण्ड र भद्रपुर वस स्टेण्ड अगाडि पनि औषधी सेवन केन्द्र राखिएको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिकामा ५ जना
हात्तीपाइले रोगबाट संक्रमित छन् । हात्तीपाइले रोग नियन्त्रणका लागि औषधी खुवाउने यो अन्तिमपटकको अभियान हो ।

कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधी खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताउनुभयो ।

कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ । हाल झापामा २ सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन् ।

यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियानलाई सफल बनाउन झापामा सात सय ५० स्वास्थ्यकर्मी र छ सय छ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here